१३ फागुन, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचनप्रति प्रतिबद्ध र इमान्दार नभएको आरोप लगाएका छन् ।
पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपालद्वारा शनिबार आयोजित ‘राजनीतिक निकास र प्रजातन्त्रको भविष्य’ विषयक विचार गोष्ठीमा पार्टी अध्यक्ष थापाले मुलुकको वर्तमान सङ्कट समाधान संविधानसभाको अर्को निर्वाचन नै भएको दाबी गरे ।
उनले ठूला दलका करिब एक दर्जन भ्रष्ट, सत्तालोलुप र असक्षम नेताहरूले सात वर्षदेखि सत्ता कब्जा गरिरहेको आरोप लगाउँदै आगामी जेठभित्र चुनाव गर्ने हो भने बहालवाला प्रधानन्यायाधीश, पूर्व प्रधान न्यायाधीश वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा निष्पक्ष र स्वतन्त्र चुनावी सरकार गठन गर्नेपर्छ भने ।
कार्यक्रममा पार्टी उपाध्यक्ष राजीव पराजुलीले मुलुकमा गणतन्त्र आएपनि सामाजिक, आर्थिक तथा विकास निर्माणमा कुनै उपलब्धि हासिल गर्न नसकेको उल्लेख गर्दै नेपाली जनताको हकअधिकार स्थापित गर्न निर्वाचन एक मात्र विकल्प भएको बताए ।
पार्टी महामन्त्री चन्द्रबहादुर गुरुङले मुलुकको वर्तमान सङ्कट समाधानका लागि चुनावलाई केन्द्रविन्दु बनाएर प्रधानन्यायाधीश वा नागरिक समाजका अगुवाको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने बताए । रासस