हेडलाइन्स वाच ।
भारत र पाकिस्तानबीच चलिरहेको तनावका कारण नेपाललाई पनि समस्या पर्ने देखिएको छ । पाकिस्तानसँग चर्चिएको असन्तुष्टिकाबीच यही नोभेम्बरमा इस्लामाबादमा हुने सार्क सम्मेलनमा सहभागी नहुने बताएको भारतले नेपालमाथि पनि सम्मेलनमा सहभागी नहुन दवाव दिने सम्भावना बढेको छ ।
भारतलाई मुशर्रफको चेतावनी- पाकिस्तानलाई नेपाल जस्तो नठान
भारतीय मिडियाले बंगलादेश, भुटान र अफगानिस्तानले भारतलाई साथ दिइसकेको भन्दै अव नेपालले पनि भारतलाई साथ दिने सम्भावना रहेको दावी गर्दै समाचार प्रकाशित गरेका छन् ।
आजको हिन्दूस्तान दैनिकका अनुसार भारतको निर्णयलाई समर्थन गर्दै बंगलादेश, भुटान र अफगानिस्तानले सार्क सम्मेलनमा सहभागि नहुने निर्णय गरेका छन् । भारतले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा भाग नलिने जनाउँ हिजै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गराएका थिए । हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । भारतीय मिडियाले सार्क सम्मेलन धरापमा परेपछि अध्यक्ष राष्ट्र नेपालाका प्रधानमन्त्रीले बैठक बोलाएको दावी समेत गरेका छन् । यद्यपी नेपालमा भने यसबारे कुनै जानकारी सार्वजनिक भएको छैन ।
सार्क अध्यक्षको भूमिकामा रहेको नेपालले सार्क सम्मेलनको अर्को मिति र स्थान तय गर्न विदेश मन्त्रिस्तरीय बैठक बोलाउनु पर्ने छ । यद्यपी नेपालले अहिले सम्म यो कदम चालिसकेको छैन ।
भारतले नेपाललाई प्रयोग गर्ने खतरा
कतिपय विश्लेषकले पाकिस्तान र भारतबीचको विवादमा सार्क मुछेर भारतले नेपाललाई समेत प्रयोग गर्ने खतरा बढेको औंल्याएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई विघटनको दिशामा पुर्याएर बिमस्टेकलाई अघि बढाउन भारतले नेपाललाई प्रयोग गर्ने खतरा बढेको उनीहरुको बुझाइ छ ।
पाकिस्तान सम्मेलन स्थगित भएमा सार्कको भविश्यमाथि प्रश्न उठ्न लागेको देखिन्छ । इस्लामावादमा सार्कको शिखर बैठकमा भाग नलिने निर्णय भारतले सार्क अध्यक्ष राष्ट्रको हैसियतमा नेपाललाई दिइसकेको छ । सार्कको कुनै एक सदस्य राष्ट्रले भाग नलिएमा शिखर बैठक स्थगित हुने प्रचलन छ । यसअघि पनि भारत-पाकिस्तान तनावकै कारण शिखर बैठक स्थगित भएका थिए । भारतको पछिल्लो निर्णयलाई पाकिस्तानले दुर्भाग्यपूर्ण भनेको छ । पाकिस्तानी विदेश विभागका प्रवक्ताले भने भारतको यो निर्णयको आधिकारिक जानकारी प्राप्त नभएको बताएका छन् र यो घोषणालाई दुर्भाग्यपूर्ण भनेका छन् ।
फाइल तस्विर
दुई वर्ष अघि काठमाडौंमा भएको १८ औं सार्क सम्मेलनको वेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले एक आपसमा हात मिलाएपछि विश्वभरी हेडलाइन बनेका थिए ।
तर गत वर्ष पाथानकोटमा भएको आतंकवादी आक्रमण र सेप्टेम्वर १८ मा भएको उरी आक्रमणमा भारतका १८ जना सैनिकहरुको मृत्यु भएपछि दुई देशको सम्वन्ध अत्यन्तै विग्रिएर गएको छ । यि आक्रमणहरुमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै पाकिस्तानसँगका विभिन्न सम्झौता तोड्ने चेतावनी दिइरहेको छ ।
सार्क सम्मेलनकै निहुँमा भरतले नेपाललाई आफ्नो पाकिस्तानसँगको विवादमा संलग्न गराउने खतरा देखिएको छ । पाकिस्तानलाई एक्ल्याउने नीति सफल पार्न भारतले अध्यक्ष राष्ट्र भन्दै नेपाललाई सबैभन्दा बढी दवाव दिने निश्चित छ । अध्यक्ष राष्ट्र मात्र नभएर सार्कको मुख्यालय पनि नेपालमै छ ।
भारतलाई पाकिस्तानी मिडियाको जवाफः हामी नेपाल र भुटान जस्तो होइन
भारतले भने पाकिस्तानलाई साइड लगाउन सार्कलाई कमजोर पार्दै बिमस्टेकलाई बलियो बनाउन चाहेको देखिन्छ । सन् २०१४ देखि नेपाल बिमस्टेकको पनि अध्यक्ष छ । भारतले गोवामा हुन लागेको ब्रिक्स सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिइसकेको छ । प्रचण्ड पनि गोवा जाने तयारीमा छ । कतिपयको बुझाइमा प्रचण्ड भन्दा पनि पाकिस्तानप्रति अनुदार रहँदै आएको सत्ता साझेदार नेपाली कांग्रेसको दवावमा नेपालले भारतको कदममा साथ दिन सक्ने खतरा छ । भारतसँग निकट बन्न खोजेको आरोप खेपेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि सार्क र बिमस्टेक मध्ये एकलाई प्राथमिकता दिनु पर्ने भारतीय दवाव झेल्ने धर्मसंकटको अवस्थामा पुर्याइदिएको छ ।