११ असोज, काठमाडौं ।

‘नेपालको संविधान’ जारी भयो, तर परम्परा विपरीत साल लेखिएन, किन होला ?

धेरैले यसका बारेमा जिज्ञासा प्रकट गरे पनि संविधान निर्माणमा सक्रिय सहभागी प्रमुख राजनीतिक दलका नेता र सभासद्बाट पनि यसको चित्तबुझ्दो उत्तर भने हालसम्म आउन सकेको थिएन । संविधानसभाका अध्यक्षसमेत रहेका सुवास नेम्वाङले संविधानको नामसँगै २०७२ किन उल्लेख गरिएन भन्ने जिज्ञासालाई शान्त पार्ने प्रयास गरे ।

नेम्वाङले भने, ‘‘नेपाल विविधतायुक्त मुलुक भएको र विभिन्न जातजाति, भाषाभाषीको बेग्लाबेग्लै खाले संवत् प्रचलनमा रहेकाले समावेशी होस् भन्ने आधारमा कुनै पनि संवत् उल्लेख नगरिएको हो ।’’

Sambidhan signature 6

अघिल्लो संविधानसभाको विवाद समाधान उपसमितिमा नै सो विषय टुङ्गो लागेकाले त्यसैलाई आधार मानी कुनै पनि संवत् संविधानको नामसँगै समावेश नगरिएको भए पनि संविधानको अन्तिम भागमा भने २०७२ साल असोज ३ गतेदेखि लागू हुने उल्लेख गरिएको उनले जानकारी दिए ।

नेपालमा विसं, इसं, नेपाल संवत्, यले संवत्लगायत विभिन्न खालका संवत् अनुसरण गर्ने विभिन्न जातजाति तथा भाषाभाषी रहेकाले सबैलाई अपनत्व होस् भनेर कुनै पनि संवत् उल्लेख नगरिएको नेम्वाङको भनाइ छ ।

विश्वमा कतिपय मुलुक र छिमेकी भारतको संविधानमा समेत संविधानमा कुनै पनि संवत् उल्लेख गरिएको पाइँदैन । संविधानको अन्तिम भागको ३०७ धारामा सङ्क्षिप्त नाम र प्रारम्भमा यस संविधानलाई ‘नेपालको संविधान’ भनिने र संवत् दुई हजार बहत्तर साल असोज महिनाको तीन गतेदेखि प्रारम्भ हुने उल्लेख छ ।

यसअघि नेपालको अन्तरिम विधान, २००४ देखि २०६२ सालपछि निर्माण भएको अन्तरिम संविधान, २०६३ सम्म विसं उल्लेख गरिएको थियो ।