१४ मंसिर, काठमाडौं ।
वाम र लोकतान्त्रिक गठबन्धनले मुलुकको चुनावी राजनीति ध्रुवीकृत भइरहेका बेला झापामा भने पृथक् दृश्य छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाप्रति आक्रामक छैनन् । उसैगरी कांग्रेसका अर्का उम्मेदवार विश्वप्रकाश शर्मा पनि वाम दलहरुप्रति आक्रामक छैनन् । बरू गठबन्धनको स्वरुप फरक छ । लोकतान्त्रिक गठबन्धनलाई समर्थन गरेको राप्रपाकै महामन्त्री राजेन्द्र लिङ्देन वाम गठबन्धनको समर्थनमा उम्मेदवार छन् । यसै मेसोमा सिटौला जिताउन ‘म्याच फिक्सिङ’ को चर्चाले झापाको चुनावी माहोलमा सनसनी मच्चाएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार झापाको गौरादहमा (क्षेत्र नं ५) आयोजित आमसभामा एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध आक्रामक भाषण गरे । ‘कम्युनिस्ट सरकार बने कहिल्यै निर्वाचन नहुने र एकदलीय अधिनायकवाद लाद्ने’ दाबी देउवाले गरिरहँदा गृहजिल्लामै रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यक्रममै गएनन् । सिटौलाजस्तै अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि अनुपस्थित भए । जिल्लामा आफ्नै पार्टी नेतृत्व सहभागी कार्यक्रमप्रति उनीहरूको अनुपस्थितिलाई लिएर यतिबेला अनेक कोणबाट चर्चा चलिरहेको छ । आजको कान्तिपुरमा खबर छ ।
सिटौला र शर्मासँग एमाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छैनन् । सिटौला राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन र शर्मा माओवादी नेता राम कार्कीसँग प्रतिस्पर्धामा छन् । यसकारण यी दुवै नेता जिल्लामा एमालेलाई चिढाउन चाहँदैनन् । बरु आफ्नै पार्टीको नेतृत्वमा गठित लोकतान्त्रिक गठबन्धनमा आबद्ध राप्रपाप्रति बढी आक्रामक देखिन्छन् ।
‘ओलीविरुद्ध किन बोलिराख्ने भनेर नै दुवै नेता (सिटौला र शर्मा) शीर्षस्थ नेतृत्व सहभागी गृहजिल्लाकै कार्यक्रममा समेत नगएका हुन्,’ कांग्रेसका एक नेताले भने । उक्त कार्यक्रममा कांग्रेस नेतृत्वले एमाले अध्यक्ष ओली र वाम गठबन्धनप्रति चर्को विरोधमा अभिव्यक्ति दिएको थियो ।
वाम गठबन्धनविरुद्ध नरम बनेर सिटौलाले एमाले र माओवादी केन्द्र पंक्तिको मत आकर्षित गर्न जसरी खोज्दैछन् त्योभन्दा पनि उनलाई सहज बनाउन एमाले र माओवादीको नेतृत्व पंक्तिले ‘म्याच फिक्सिङ’ भूमिका निर्वाह गरेको चर्चासमेत चल्ने गरेको छ । यसका पछि केही तर्क पनि छन् ।
२०४८ देखि निरन्तर चुनाव लड्दै आएका सिटौलाको ३ नम्बर क्षेत्र राप्रपाका महामन्त्री लिङ्देनलाई छाड्ने सहमति कांग्रेसको पार्टी नेतृत्वले गरिसकेको थियो । सिटौलाको नाम समानुपातिक सूचीको १ नम्बरमा राखेर निर्वाचन आयोगमा बुझाइसकिएको थियो । सुरुका केही दिन पार्टीको निर्णयप्रति मौन थिए सिटौला । जब झापा आएर काठमाडौं फर्किए, अनि उनले जसरी पनि आफू चुनाव लडिछाड्ने बताए । त्यतिबेला ओलीसँगको गोप्य कुराकानीपछि नै सिटौला चुनावी मैदानमा खडा भएको तर्क राजनीतिक वृत्तमा चलेको छ । जसलाई ‘म्याच फिक्सिङ’ सँग जोडेर हेरिएको छ ।
सिटौलाका भने भिन्नै तर्क छन् । आफू नभएकै मौकामा समानुपातिक सूचीमा राखिएको र झापाका कांग्रेस कार्यकर्ताको दबाब र मायाकै कारण आफू चुनावी मैदानमा होमिएको तर्क उनी गर्छन् । ‘मलाई समानुपातिकमा राखेर मेरो क्षेत्रमा राप्रपालाई सघाउने निर्णयलाई मैले पार्टी नेतृत्वको दुस्साहस भनेको छु,’ उनले भने, ‘म्याच फिक्सिङका कुरा बेकार हुन्, एमाले र माओवादी नेतृत्वसँग मेरो छलफल भएको छैन ।’ राप्रपा नेता लिङ्देन पनि ‘म्याच फिक्सिङ’ भन्ने हल्लाप्रति विश्वास राख्दैनन् । ‘मलाई विश्वास छैन, तैपनि त्यसको जवाफ दिने म होइन, केपी ओलीसँग नै सोध्नुहोला,’ उनले भने ।
यही संशय चिर्न लिङ्देनकै आग्रहमा ओलीले दोस्रो पटक बिहीबार क्षेत्र नम्बर ३ मै आयोजित सभालाई सम्बोधन गर्ने भएका छन् । ओलीको चुनावी अभियानको सुरुवात पनि यसै क्षेत्रबाट भएको थियो ।
सिटौलाको निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवार नउठाउनुमा एमाले अध्यक्ष ओलीको स्वार्थ पनि जोडिएको छ । ओली र सिटौलाले प्रतिस्पर्धा गरेका क्षेत्रमा राप्रपाको प्रभाव मानिन्छ । सम्भवत: राप्रपाको देशभरमै सबभन्दा राम्रो प्रभाव क्षेत्रमध्येका यी दुई निर्वाचन क्षेत्र पर्छन् । सिटौला समानुपातिक सूचीमा बसेको भए राप्रपाको गठबन्धन यहाँ पनि कांग्रेससँगै बन्थ्यो । राप्रपासँगको गठबन्धनमा कांग्रेस युवा नेता विश्वप्रकाश शर्मालाई ओलीसँगै प्रतिस्पर्धा गराउने कि भन्ने अनौपचारिक संवाद पनि कांग्रेस वृत्तमा चलाइएको थियो । शर्माले यी चर्चालाई इन्कार गरेनन् । ‘मलाई यस क्षेत्रबाट बाहिर्याउनुपर्छ भन्ने मनसाय सम्भवत: एमालेमा थियो,’ उनले भने । ओलीलाई आफ्नै निर्वाचन क्षेत्रमा ‘इन्गेज’ गराइदिने कांग्रेसको यो रणनीति त्यतिबेला असफल भयो, जतिबेला सिटौला चुनावी मैदानमा आउने भए । सिटौला मैदानमा आएपछि राप्रपाको गठबन्धन यस जिल्लामा एमाले र माओवादी केन्द्रसँग जोडिन पुग्यो, जसले ओलीका लागि पनि बाटो सहज हुन पुग्यो ।
एमालेका स्थानीय नेता एवं ३ नम्बर निर्वाचन क्षेत्रका चुनाव परिचालन समिति संयोजक पुष्पराज पोखरेल अघिल्लोभन्दा पछिल्लो तर्कसँग सहमत छन् । यद्यपि वाम गठबन्धनले अन्य ठाउँमा कांग्रेससँग भएको तिक्तता भने झापाको हकमा नभएको बताउँछन् । ‘तीन नम्बर क्षेत्रमा कांग्रेस र वाम गठबन्धनका नेता व्यक्तिगत आरोपप्रत्यारोपमा उत्रिएका छैनन् ।
एमालेले भोट दिइहाल्छ कि भन्ने आसमा कांग्रेस पनि आक्रामक छैन, एमालेले पनि प्रतिनिधिसभामा उम्मेदवार नभएकाले सफ्ट कर्नर राख्नु स्वाभाविक हो,’ उनले भने । उनको भनाइमा ओली र सिटौलाबीचको ‘म्याच फिक्सिङ’ भन्दा पनि एमालेकै बाध्यताका कारण राप्रपासँग गठजोड भएको हो । ‘हो अध्यक्ष कमरेडकै क्षेत्रमा (निर्वाचन क्षेत्र ५) कांग्रेस र राप्रपा मिल्दा हामी (एमाले) लाई चुनौती थियो, स्थानीय तहकै चुनावले त्यस्तो अंकगणित बनेको थियो,’ उनले भने ।
ओलीको निर्वाचन क्षेत्रमा पर्ने चार स्थानीय तहमध्ये गौरादह नगरपालिका कांग्रेस र गौरीगन्ज गाउँपालिकामा राप्रपाले जितेको छ । दमक नगरपालिका र कमल गाउँपालिकामा एमालेले जितेको छ । कमलमा कांग्रेससँग मत बराबर भएको थियो । यद्यपि गोलाप्रथाबाट एमालेले जितेको हो । दमकमा पनि दोस्रो प्रतिस्पर्धामा राप्रपा नै थियो ।
‘जिल्लामा राप्रपा तेस्रो राजनीतिक शक्ति भएकाले ऊसँग कांग्रेस मिल्दा अध्यक्ष ओली स्वयंलाई अप्ठ्यारो थियो,’ पोखरेलले भने, ‘३ नम्बर क्षेत्रमा राप्रपाका लिङ्देनलाई छाडदा अन्य सबै क्षेत्रमा राप्रपाले हामीलाई सघाउने भयो, त्यसै कारण वाम र राप्रपाबीचको गठबन्धन बनेको हो ।’
यद्यपि कांग्रेस उम्मेदवारलाई सघाउने हल्ला भने बाहिर चलिरहेको उनले स्विकारे । यतिसम्म कि बिर्तामोडबाट करिब ४० किमि दक्षिण कचनकवल गाउँपालिकामा बुधबार दिउँसो हामी पुग्दा त्यहाँका एमाले र माओवादी केन्द्रका कार्यकर्तामा समेत यस्तो द्विविधा देखिएको थियो । कचनकवल गाउँपालिकाका माओवादी कार्यकर्ता बालकृष्ण दंगाल मतदानको केही दिनअघिसम्म नेतृत्वबाट अर्कै ‘ग्रिन सिग्नल’ आउन सक्ने ठान्छन् । ‘के गर्ने भन्नेबारे एक दुई दिनमा ग्रिन सिग्नल आउँछ भन्ने चर्चा पार्टीभित्र चलेको छ,’ उनले भने, ‘बजारमा आउने होइन, पार्टीको च्यानलबाट संकेतका रूपमा आउने बुझिएको छ ।’ राजवंशी टोलका एमाले कार्यकर्ता मोहन राजवंशीले पनि यस्तै द्विविधामा परेको बताए । ‘हामी अप्ठ्यारोमा परेका छौं,’ उनले भने, ‘निर्वाचनको दिनसम्म हाई कमान्डले जे भन्छ, त्यही गर्ने हो । अहिलेसम्म निर्देशन केही आइसकेको छैन ।’