२९ मंसिर, बुटवल ।

रुपन्देहीको सीमानाकामा धर्ना बस्न खोज्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको प्रयास प्रहरीले विफल पारेको छ । रुपन्देहीको सीमानाका बेलहिया–सुनौलीबाट नेपाल आउने गाडी रोक्नका लागि मधेशी मोर्चाका नेता, कार्यकर्ता धर्ना बस्ने तयारी गरेका थिए ।

दसगजामा पुगेर नाराबाजी गर्न लागेलगत्तै प्रहरीले मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय बर्मालाई नियन्त्रणमा लिएको थियो । आफ्ना नेतालाई नियन्त्रणमा लिएपछि कार्यकर्ताहरु भागेर भारतीय बजार सुनौली तर्फ लागेका थिए ।

मोर्चाका नेतालाई प्रहरीले नियन्त्रणमा लिएपछि सीमाको अवरोध हटेको रुपन्देही प्रहरी प्रबक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । रुपन्देहीको सीमानाका बेलहियामा नेपाल प्रहरी र ससस्त्र प्रहरीको कडा सुरक्षा छ ।

आजै स्थानीय प्रसासनले लगाउँदै आएको निधेषित क्षेत्रको अवधि थप गरेको छ । जिल्ला सुरक्षा समिति रुपन्देहीले निधेषित क्षेत्रको अवधि थप गर्दै आगामी पुस ६ गते साँझसम्म कायम गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जानकारी दिए ।

स्थानीय प्रसासनले सिद्धार्थनगर भैरहवाको पुर्वमा वसन्तपुर गाविस बाईपास सडक, पश्चिममा गौतमबुद्ध बिमानस्थलको मायादेवी चोक, उत्तरमा भैरहवा विद्युत प्राधिकरणको कार्यालय, र दक्षिणमा बेलहिया भन्सारगेट दायाँबाँयासम्मको क्षेत्रमा जुलुस, सभा सम्मेलन गर्न रोक लगाएको हो ।