२२ साउन, काठमाडौं । सुनको भाउ बुधबार एकै दिन तोलामा १५ सय रुपैयाँ बढेको छ । मंगलबार ६८ हजार रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन बुधबार बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साउन १ गते तोलाको ६४ हजार ५ सय रुपैयाँ रहेको सुन २२ दिनमा पाँच हजार रुपैयाँ बढेको छ । साताको पहिलो दिन आइतबार ६६ हजार ३ सय रुपैयाँ तोलामा कारोबार भएको सुन त्यस यता तीन दिनमा तोलामा ३२ सय रुपैयाँले वृद्धि भएको हो ।

बुधबार चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर ८ सय १० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र अमेरिका र चीनबीचको व्यापार युद्धका कारण सुनको भाउ निरन्तर उकालो लागेको महासंघले जनाएको छ ।