काठमाडौं ।
नेपालमा संविधान जारी गर्ने भनिएको भदौ मसान्त नजिकिँदै गर्दा संघीयताको सीमाङ्कनले विभिन्न भागमा केही अपेक्षित र केही अनपेक्षित तनाव देखिएका छन् । खासगरी मधेश र थारु समुदाय संघीय सीमाङ्कनको विभाजनबाट असन्तुष्ट भएर सडकमै ओर्लिएका छन् । कैलालीको टिकापुरमा कसैलै सोंच्दै नसोंचेको स्तरमा भयानक दंगा भड्कियो जहाँ सुरक्षाकर्मीहरु निरिह बनेर मारिए ।
यी घटनाहरुले संघीयता नेपालमा फाप्दैन भनेर विश्लेषण गर्नेहरुको भनाइलाई बल दिएको छ । त्यस भन्दा पनि बढी नेपालमा बढिरहेको तनावले सँधै सुक्ष्म ब्यवस्थापनमा हात हाल्ने भनिएको भारतलाई आन्तरिक मामलामा हस्तक्षेपको राम्रो मौका दिएको छ । भारतीय मिडियामा नेपालको विषयलाई जसरी उछालिएको छ त्यसले संघीयतामा भारतलाई चित्त बुझ्दो समाधान नआए सम्म यो देशमा संविधान जारी हुन सक्दैन भन्ने स्पष्ट पटाक्षेप समेत भएको छ ।
कैलाली घटनापछि कोइरालालाई मोदीको फोन
कैलालीको टिकापुरमा सुरक्षाकर्मी मारिने गरी भएको घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरे । घटनापछि दुःख ब्यकत गरे । फोनमा भारतीय प्रधानमन्त्री मोदीले वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरेको भारतीय परराष्ट्र मन्त्रालयले आधिकारिक जानकारी दियो । उनले कुटनीतिक भाषामै नेपालमा शान्ति सुरक्षा कायम राख्न भारतबाट हुन सक्ने सबै सहयोग गर्न तयार रहेको बताउँदै वार्ताबाट असन्तुष्ट पक्षको माग सम्बोधन गर्न समेत आग्रह गरेको कुरा पनि नेपाल सरकारले स्वीकार गरेको छ ।
भारतीय मिडियामा अर्कै कुराः मोदीले कोइरालालाई हपारे ?
मोदीले कोइराललाई फोनमा के भनेका थिए भन्ने विषयमा भारतीय विदेशमन्त्रालयले सार्वजनिक गरेको विज्ञप्ति भन्दा नितान्त फरक शैलीमा यो विषयमा भारतीय मिडियामा हेडलाइन बन्यो । कैलालीमा भएको घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीलाई फोन गरेको विषयमा भारतको चर्चित अखाबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले सनसनीपूर्ण हेडलाइन सहित मोदीले नेपाली प्रधानमन्त्रीलाई झपारेको संकेत गरेको छ । मोदीले कोइरालालाई फोन गरेर ५-१० जना कोठामा बसेर संविधान लाद्न नपाउने भन्दै झपारेको हिन्दुस्तान टाइम्सको दावी छ ।
मोदीले यस अघि पनि सहमतिमा मात्र संविधान जारी गर्न भनेको स्मरण गराउँदै उक्त समाचारमा गृहमन्त्री बामदेव गौतमले कैलाली घटनापछि दिएको बयानमा भारतीय घुसपैठको संकेत गरेको समेत उल्लेख छ । मोदीले प्रधानमन्त्री कोइरालासँग बामदेवले गरेको संकेतप्रति पनि तिव्र असन्तुष्टी जनाएको हिन्दुस्तान टाइम्सले दावी गरेको छ । यद्यपी नेपालको प्रधानमन्त्री कार्यालयले भने हिन्दुस्तान टाइम्सको समाचार झुटो भएको दावी गर्दै यो समाचारलाई आधारहिन भनेको छ ।
मोदीसँग के कुरा भएको हो जानकारी चाहियोः विजुक्छे
प्रधानमन्त्री कोइराला र मोदीबीच भएको भनिएको फोन वार्ता विवादमा पर्दै जाँदा संविधानसभामा समेत यो विषयले प्रवेश पाएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगका फोन वार्ताबारे प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभालाई जानकारी नगराएको भन्दै आपत्ति जनाए । भारतीय प्रधानमन्त्रीसँग के कुरा भएको हो त्यो जानकारी नेपाली जनतालाई दिनु पर्ने उनले माग गरे ।
गृहमन्त्रालयमै भारतीय राजदुतः बामदेवलाई खप्की
कैलालीमा सुरक्षाकर्मी मारिएपछि तनावग्रस्त बनेको राजधानीमा संसद बैठकलाई संवोधन गर्दै गृहमन्त्री बामदेव गौतमले मधेश र कैलालीको थरुहट आन्दोलनमा भएका हिँसात्मक घटनामा बाह्य घुसपैठ भएको भन्दै भारत तर्फ इङ्गित गरेका थिए । गृहमन्त्री भएपनि अलि आलोकाँचो शैलीमा तथ्य प्रस्तुत नगरी संसदमा प्रस्तुत गरेको उक्त विषयलाई धेरैले पत्याए र कतिपयले तथ्य माग गरे । तर बामदेव गौतमको उक्त जवाफ एक दिनमै आफ्नै कार्यकक्षमा विदेशी राजदुतबाट खप्की खेप्ने कारण बन्न पुग्यो ।
मंगलबार गृहमन्त्रीको कार्यकक्षमै पुगेर भारतीय राजदुत रञ्जित रेले दक्षिणतर्फबाट घुसपैठ भएको भनेर बामदेवले दिएको अभिब्यक्तिप्रति आपत्ति जनाए । बामदेवले दक्षिण भनेको भारततर्फ लक्षित नभएको भन्दै फितलो जवाफ दिएर तर्किन खोजेपनि राजदुत रेको राम्रै खप्की खानु परेको बताइएको छ ।
मधेश मुद्धा उचाल्दै भारतीय मिडिया
नेपालमा संविधान जारी हुनै लाग्दा मधेशमा देखिएका असन्तुष्टीलाई भारतीय मिडियाले भने उचालेर प्रस्तुत गर्न थालेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रधानमन्त्रीलाई फोनमै झपारेको भनेर लेखिएको हिन्दुस्तान टाइम्सको समाचारमा मंगलबार भारतीय सीमामा बस्ने मधेशी र थारुहरु संघीयताको विभाजनमा असन्तुष्ट हुँदै आन्दोलन गरिरहेको कुरालाई पनि विशेष महत्व दिइएको थियो । त्यति मात्र होइन इण्डिया टूडेले भारतीय मुलका मधेशीहरुलाई नेपालमा सँधै हेप्ने गरिएको भनेर विशेष फिचर नै बनाएको छ ।
संघीयताको विषयमा तनाव चलिरहँदा भारतीय मिडियामा मधेश मुद्धालाई संवेदनशील ढंगले उचालिनु र केही दिन अघि मात्र एक मधेशी नेताले भारतका प्रधानमन्त्रीलाई मधेशी जनता बचाउन भन्दै याचना पत्र लेख्नुबीच संयोग मात्र हो कि गहिरो साइनो नै छ त्यो समयक्रममा उजागर हुँदैजाला । स्वतन्त्र तराईको माग गर्दै ‘अखिल तराइ मुक्ति मोर्चा’ भनिने संगठनका संयोजक रहेका जयकृष्ण गोइतले मधेशी जनतालाई बचाउँन सहयोग माग्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका थिए ।
राजदुताबासमार्फत मोदीलाई गत ९ अगष्टमा उनले लेखेको पत्रमा मधेशी जनताले नेपाल सरकारलाई अत्यन्त घृणा गर्ने कुरा स्मरण गराउँदै उनले मधेशलाई नेपाली औपनिवेशिक शासनबाट मुक्ति दिलाउन र आफ्नो राजनीतिक भविष्य निर्धारण गर्नका लागि न्यायपूर्ण सहयोग गर्न अनुरोध गरेका छन् ।
भारतमा चर्चित मानिने अखबार इण्डिया टूडेको अनलाइन संस्करणमा नेपाली संविधानमा ‘मधेशी को हो’ भन्ने शीर्षकको हेडलाइन फिचर प्रकाशित गरिएको छ । भने अन्य मिडियाले पनि नेपालमा चलिरहेको तनावलाई उत्तेजित ढंगले प्रस्तुत गर्दै मधेशीहरुप्रति विशेष साहनुभूति देखाएको देखिन्छ ।
इण्डिया टूडेको फिचरमा नेपालमा मधेशीको जनसंख्या उल्लेख नगरीकन चलाखीपूर्णरुपमा राखिएको तथ्याङ्कमा तराइ क्षेत्रमा मात्र नेपालको कूल जनसंख्याको २३ दशमव १ प्रतिशत जनसंख्या बसोबास गर्ने भनिएको छ । त्यति मात्र होइन उक्त फिचरमा नेपालमा मधेशीहरुलाई उनीहरुको रंग र भाषाका कारण पनि भेदभाव गर्ने गरिएको भन्दै यो फिचरमा दौरा सुरुवाल र गुन्यो चोली लगाएर शुद्ध नेपाली बोल्नेलाई मात्र नेपाली मान्ने गरिएको भनिएको छ ।
के चाहन्छ भारत ?
भारत नेपालको त्यस्तो छिमेकी देश हो जोसँग नेपालका शासक मिल्दा पनि घाटा हुन्छ निमल्दा झनै घाटा हुन्छ । यसै कारण होला नेपालका ठूला ठूला परिवर्तनमा जहिले पनि जित्ने पक्षले भारतले सहयोग गरेको भनेर र हार्ने पक्षले भारतले हस्तक्षेप गरेको भनेर प्रतिक्रिया आउँछ । नेपालमा यस्तो कुनै पनि समय छैन जतिबेला राजनीतिक परिवर्तन हुँदा भारतले भूमिका नखेलेको होस् र भारतले जस वा अपजस नपाएको होस् । माओवादी शान्ति प्रक्रियामा आउँदा होस् या संविधानसभा सहमति कि प्रक्रिया भन्दा होस् भारतीय भूमिका स्पष्ट र प्रत्यक्ष छ ।
सार्क सम्मेलनमा सहभागी हुन नेपाल आएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस एमालेलाई खुल्लम खुल्ला अर्ति दिँदै भाषण गर्दा शीर्ष नेताहरु चुइँक्क बोल्न सकेनन् । मोदीले त्यतिबेला संविधान निर्माणमा भैरहेको विवादमाथि ठाडै हस्तक्षेप गर्दै बहुमतीय संविधान बनाए नेपाल संकटमा फस्ने कठोर र दीर्घकालीन महत्वको टिप्पणी गरेका थिए जुन कालान्तरमा राजनीतिक दलबीच प्रक्रिया नभएर सहमतिको कारण नै बन्न पुग्यो । अहिले पनि मोदीले त्यस्तै संकेत गरेका छन् । नेपाललाई अविभावकत्व प्रदान गरेर भारतीय ‘ठूल्दाइ प्रवृत्ति’ कायमै राख्न चाहने मोदीले नेपालका प्रधानमन्त्रीलाई फोन गरेर मंगलबार दिएको सन्देश त्यसैको निरन्तरता हो ।
केही समय अघि पूर्व प्रधानमन्त्री रहि सकेका नेपाली नेताहरुलाई पालै पालो बोलाएर दिल्लीमा बोलाएर मोदीले उपदेश दिए । त्ययसपछि कतिपय नेताको बोली नै फेरियो । अव तिनै नेताले जारी गर्न लागेको संविधानमा सबै पक्षको चित्त बुझाउ अन्यथा राम्रो हुँदैन भनेर भारतले प्रत्यक्ष दवाव दिन थालेको छ । कैलाली घटनापछि मोदीलाई फोन गरेर वार्ता गर्न र असन्तुष्टको माग सम्बोधन गरेर मात्र संविधान जारी गर भन्नुले मोदीको बीर अस्पतालमा गरेको भाषण पुनःस्मरण गराएको छ । त्यतिबेला मोदीले बोलेका कुरा एमाओवादीको हकमा समेत पक्षमा थिए भने अव एमाओवादी सहमत रहेको सहमति विपरित मोदीका कुरा आएका छन् । मधेशप्रति भारतको विशेष लगावसँग भारतीय राजदुतको गृहमन्त्रालय भ्रमण र मोदीको फोनको साइनो छ कि छैन भनेर नेपालमा विश्लेषण शुरु भएको छ ।