२१ पुष, एजेन्सी । अमेरिकी हवाई आक्रमणमा मारिएका ईरानका सैन्य कमाण्डर कासिम सोलेमानीको अहिले अन्तिम संस्कार भइरहेको छ ।

अन्तिम संस्कारमा ठूलो संख्यामा ईरानी नागरिकहरु भेला भएका छन् । निकै लोकिप्रय रहेका सुलेमानीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि राजधानी तेहरानमा ठूलो संख्यामा मानिसहरुको उपस्थिती रहेको छ । ईरानका सर्वोच्च नेता आयोतोल्लाह खमेनीले परम्परागत अन्तिम संस्कारमा प्रार्थना गरेका छन् । प्रार्थनका क्रममा उनी रोएका थिए ।
अन्तिम श्रद्धाञ्जलीका लागि भेला भएकालेहरुले अमेरिका र त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरुले यस्तो घटनाको बदला लिनुपर्नेमा पनि जोड दिएका छन् । ईरानले परमाणु सम्झौताका कुनै शर्त नमान्ने घोषणा गरिसकेको छ । सोलेमानीको इराकको राजधानी बगदादमा शुक्रबार भएको अमेरिकी हवाई आक्रमणका क्रममा मृत्यु भएको थियो ।
६२ वर्षीय सोलेमानी मध्यपूर्वमा इरानी सैन्य अभियानको नेतृत्व गरिरहेका थिए । तर अमेरिकाले उनलाई आतंकवादीको नाईके मान्दै आएको थियो ।

तर ईरानमा राष्ट्रनायकका रुपमा परिचित सोलेमानीलाई देशमा सर्वोच्च नेता खामेनीपछि दोस्रो शक्तिशाली व्यक्ति मानिएको थियो । अन्तिम संस्कारमा सहभागी भएकाहरु रोइरहेका दृश्य स्थानीय टेलिभिजनहरुले देखाएका छन् । सोलेमानीकी छोरी जिनाव सोलेमानीले अमेरिकालाई चेतावनी दिँदै यो हत्याका लागि कालो दिनको सामनाका लागि तयार रहन भनेकी छिन् । ‘पागल ट्रम्प मेरो बाबालाई मारेर सबैकुरा खत्तम भयो भनेर नसोचे हुन्छ’, उनले भनेकी छिन् ।