कुशल श्रेष्ठ
“म त लालीगुराँस भएछु, वनैभरी फुलिदिन्छु, मनैभरी फुलिदिन्छु”
साँच्ची नै, नारायण गोपाल लालीगुराँस नै हुन् क्यारे, त्यसैले त अझैपनि सबै नेपालीको मनमा उनकै गीत गुञ्जिरहन्छ। कसले पो चिनेको छैन होला र उनलाई? आजपनि अधिकांशको मोबाइलमा उनको कुनै न कुनै गाना भएकै हुन्छ। नेपालको साङ्गीतिक क्षेत्रमा ‘प्रेमको माला’ गाँसेर उनले इतिहास रचेका थिए। जब उनका औँलाहरू हार्मोनियममा सल्बलाउन थाल्थे, तब उनको सङ्गीतले मोहनी लगाउँथ्यो, स्वर्गको आभास हुन्थ्यो।
बि.सं. १९९६ असोज १८ का दिन बुवा ‘आशागोपाल गुरुवाचार्य’ र आमा ‘रामदेवी गुरुवाचार्य’को कोखबाट काठमाडौँको किलागलमा जन्मेका ‘नारायणगोपाल गुरुवाचार्य’ सबैभन्दा सफल अनि ख्यातीप्राप्त नेपाली आधुनिक गायक हुन्। उनलाई नेपालको ‘स्वर सम्राट’को उपाधिले सम्मान गरिएको छ। नारायण गोपाल नेपाली भाषामा पहिलो पुस्ताका गायक हुन्, जसले गायनलाई पेसाको रूपमा अँगाले। उनले करीब १३६ वटा नेपाली गीतहरू गाएका छन्। उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन्।
आउनुहोस्, उनको जीवनको बारेमा केहि रोचक तथ्यहरू पढ्नुहोस्ः
१. मानविकी शास्त्रमा स्नातकोत्तर गरेका नारायण गोपालले शास्त्रीय सङ्गीत अध्ययन गर्न भारतको ‘माहाराजा सायाजीराव युनिभर्सिटी अफ बडोदा’ गएका थिए तर उनले अध्ययन पुरा नगरी नेपाल फर्किएका थिए।
२. उनका नजिकका अनि असल मित्रहरू ‘माणिक रत्न’ र ‘प्रेमध्वज प्रधान’ले हिन्दी गीतमा स्वराभ्यास गरिरहेका बेला नारायण गोपालले ठट्टा गरेर हिन्दी गीतको लय नै बिगारेर गाउने गर्थे।
३. उनले आफ्नो साङ्गीतिक यात्राको सुरुवातमा ४ वटा एकल गीत (स्वर्गकी रानी, आँखाको भाखा आँखैले, भो भो मलाई नछेक, मधुमासमा यो दिल) र २ वटा युगल गीत (बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैँश जानलाग्यो) गाएका थिए। यस गीतका सम्पूर्ण रेकर्डिङ भारतको कोलकतामा सम्पन्न भएको थियो।
४. बीसको दशकतिर भारतको पश्चिम बङ्गालस्थित पहाडी राज्य दार्जिलिङको भ्रमणको बेला उनले दुई महत्वपूर्ण कुरा भेट्टाएका थिए। पहिलो- उनलाई अति नै माया गर्ने प्रशंसक ‘पेमाल’लाई प्रेमीको रूपमा पाए भने दोश्रो- त्यहीँ संघर्ष गरिरहेका एक होनहार सङ्गीतप्रेमी ‘गोपाल योञ्जन’लाई एक मीतका रूपमा पाए।
५. आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगमा नारायण गोपालले नाचघरमा बाद्यवादकका जागिर पाए र उनी विस्तारै त्यहीँका हाकिमसम्म भए। आफ्नो जीवनमा एक्कासी आएको सफलताले भनौँ या बच्चैदेखिको अहम स्वभावले भनौँ, उनले बिस्तारै आफ्ना पुराना मित्रहरूसँग नाता टुटाउँदै गए। दार्जिलिङमा लगाएको मीतसँगको सम्बन्धमा पनि चिसोपना आउँदै गएको थियो।
६. आफ्नो गायनलाई चुनौती र परीक्षाको रूपमा स्वीकार्ने गायक, सङ्गीतकार नारायण गोपाल इतिहासका ज्ञाता थिए, फुटबल खेलका पारखी थिए, चेसका खेलाडी थिए, भान्सामा पनि कुशल भान्से थिए र शौखिन फोटोग्राफर थिए।
७. नारायण गोपालको स्वरलाई हाम्रो जनसमुदायले भुल्न नसक्ने एउटा कारण छ। उनले भनेका थिए- “म गाउँछु त केवल जनताको लागि गाउँछु!”
८. नारायण गोपालले बि.सं.२०२३ सालमा सर्वोत्तम सङ्गीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु पुरस्कार, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित हुनुभयो।
९. आफ्नो कोठामा हुँदा टेबुलको अगाडि पर्यो कि हार्मोनियम बजाउन थालिहाल्ने उनको बानी थियो।
१०. ‘बागीना प्रकाशन’का प्रकाशक तथा ‘सांस्कृतिक संस्थान’का महाप्रबन्धक, ‘सञ्चार मन्त्रालय’मा सल्लाहकारसमेत हुनुभएका नारायण गोपालले गीति नाटक कथा ‘कान्छी मस्याङ’ पनि लेखेका थिए। उनको निधन बि.सं.२०४७ साल मंसिर १९ गते राति ९ बजे बीर हस्पिटलमा भएको भयो।