२२ फागुन, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको आज ४ दिन पुगिसक्यो । ४० प्रतिशत क्याम्पसमा चुनाव भएपनि अझै ६० प्रतिशत क्याम्पसमा चुनाव हुन बाँकी छ ।
तर, चुनाव भएका क्याम्पसको आधिकारिक नतिजा अहिलेसम्म आउन सकेको छैन । यद्यपी सबै विद्यार्थी संगठनहरुले आफ्नै ढंगलेमात्रै नतिजा सार्वजनिक गरीरहेका छन् । सामाजिक संजालमा एक आफ्नो संगठन अरुभन्दा माथी रहेको देखाउन गलत तथ्यांक भाइरल बनाइएका छन् ।
त्रिविले नै सार्वजनिक गरेको दाबी गर्दै भन्दै स्ववियु निर्वाचनको परिणाम सार्वजनिक गरिएका छन् । तर यि सबै झुठो भएको त्रिविको प्रतिक्रिया छ ।
के भन्छ त त्रिभुवन विश्वविद्यालय ?
त्रिभुवन विश्वविद्यालयले भने स्ववियु चुनावको आधिकारिक नतिजा अहिलेसम्म सार्वजनिक गरेको छैन । साथै उसले विद्यार्थी संगठनहरुले सार्वजनिक गरेको नतिजा पनि गलत भएको बताएको छ ।
‘जे जस्तो बाहिर हल्लाहरु आएका छन् ति सबै गलत र झुठ तथ्यांक हुन्,’ त्रिविकी शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले नेपाली हेडलाइन्ससँग भनिन्, ‘ हामीले तथ्यांक संकलन गरिरहेका छौं, अब छिट्टै सार्वजनिक गर्छौ ।’त्रिपाठीका अनुसार अहिले देशभरबाट तथ्यांक संकलन गर्ने काम भैरहेको छ ।
धेरै ठाउँको नतिजा आइसकेकोले अन्तिमरुप दिएर मात्रै त्रिविले सार्वजनिक गर्ने योजना बनाएको छ । यता निर्वाचन समितीको सदस्य सचिव गंगा थापाले पनि सार्वजनिक भैरहेका तथ्यांकको विश्वास नगर्न भन्छन् । नेपाली हेडलाइन्ससँग कुरा गर्दे थापाले भोली(सोमबार) सम्ममा आंगिक क्याम्पसको अन्तिम नतिजा सार्वजनिक गरिने जानकारी दिए । सम्बन्धन प्राप्त क्याम्पसको नतिजा आउन अझै एक साता कुर्नुपर्ने थापाको भनाइ छ ।