१३ कात्तिक, एजेन्सी ।
भेनेजुएलाका प्रतिपक्षी दलहरुको गठबन्धन डेमोक्र्याटिक युनिटी राउण्डटेबल (एमयुडी) ले आह्वान गरेको हडताल र विरोध प्रदर्शनमा अपेक्षा गरेभन्दा कम जनसहभागिता रहेको छ ।
हडतालमा भेनेजुएली जनताहरु सबै उत्रने भनी विपक्षीहरुले ब्यापक प्रचारप्रसार गरे तापनि हडतालमा अपेक्षा गरेभन्दा निकै कम जनता आएकामा राष्ट्रपति मडुरो समर्थकहरुले खिल्ली उडाएका छन् ।
आफ्ना समर्थकहरुको एउटा र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति मडुरोले देशमा जबर्जस्ती गर्न खोज्ने अल्पसङ्ख्यक शासक (सांसदहरु) असफल भएकाले अब उनीहरुको दिन समाप्त भएको र शान्तिको विजय भएको भनेका छन् ।
जनमत सङ्ग्रहमा जाने लगभग सहमति भैसके पश्चात् एकाएक राष्ट्रपति निकोलास मडुरोद्वारा सो प्रकृया निलम्बन गरिएपछि राष्ट्रपतिलाई नै पदत्याग गर्न दवाव दिने उद्देश्यले एमयुडीले गत कार्तिक ११ गतेका दिन शुक्रवार १२ घण्टे आम हडताल गर्ने र त्यसपछिका दिनहरुमा लगातार आन्दोलन गर्ने थप कार्यक्रहरु पनि अघि सारे ता पनि आफ्नै समर्थकहरु धेरैजसोले नेताको निर्देशन, आह्वानको अवज्ञा गरेको देखियो ।
सरकारी कार्यालय, बैंक, यातायात सेवा, निजीक्षेत्रका व्यापारिक प्रतिष्ठान तथा बजारका पसलहरु सबैमा आम हडताल आह्वानको कुनै प्रभाव नपरेको, सदा झैं सबै कर्मचारी काममा लागेका र स्थिति पूर्णतः सामान्य रहेको भनी निर्माण मन्त्री ओस्वाल्डो भेराले निजी क्षेत्रको एउटा प्रसारण कम्पनी युनियन रेडियोलाई बताए ।
यता, राष्ट्रपति पदका पूर्व उम्मेदवार रहिसकेका हाल प्रतिपक्षी गठबन्धन एमयुडिका नेता हेनरिक क्याप्रिल्सले ट्विटरबाट एक सन्देश पोस्ट गर्दै हामीले आमहडताललाई जनताको ऐच्छिक विषय बनाएका थियौं भनी प्रतिपक्षी गठबन्धनको बचाउ गर्ने प्रयास गरे ।
साथै, जनमत सङ्ग्रहको प्रकृयालाई एकाएक राष्ट्रपति मडुरोले “कु” द्वारा निलम्बन गरी देशको संविधानको धज्जी उडाएर पक्षाघात पारेको आरोप समेत लगाए ।
अब नोभेम्बर ३ का दिन विशाल जनसमूहद्वारा राष्ट्रपति भवन घेराउ गर्ने एमयुडिको अर्को विरोध कार्यक्रम रहेको जनाइएको छ ।