९ माघ, हेटौँडा।
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले हेटौँडा–काठमाडौँ जोड्ने सुरुङमार्गको निर्माणमा सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।
मकवानपुर उद्योग वाणिज्य सङ्घको ४९ औँ वार्षिक साधरणसभाको आज उद्घाटन गर्दै उनले राष्ट्रको पूर्वाधार विकासलाई आधुनिकीकरण गरी रोजगारीका अवसर प्रदान गर्न सो सुरुङमार्गको निर्माणमा सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन ।
उनले चाँडो निर्माण कार्य अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरिसकेको पनि जानकारी दिए।
दाहालले सार्वभौम नेपालीको आत्मसम्मानमा ठेस नपुग्ने गरी भारतसँग परिपक्व कूटनीतिक माध्यमबाट छिट्टै वीरगन्ज नाका खुलाउने प्रयास भइरहेको छ भने।
दाहालले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन र स्थानीय निकायलाई सुशासनतर्फ उन्मुख गराउन अहिले राजनीतिक दलहरुको नेतृत्वमा परिपक्वताको साथै जनताप्रति जिम्मेवार हुनुपर्ने तर्फ चनाखो हुनुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री दाहालले जनतालाई सामाजिक न्यायसहित आर्थिकरुपमा समृद्ध बनाउन सरकार र दलहरु एकजुट हुनुपर्छ भने ।
सो अवसरमा उद्योग राज्यमन्त्री मेघराज नेपालीले नाकाबन्दीले उद्योगको उत्पादनमा नोक्सान भए पनि उद्योग सञ्चालनालाई सरकारले छुट्टै विद्युत् लाईनको विस्तार गर्न उद्योग ऐनलाई संशोधन गर्नेतर्फ गृहकार्य भइरहेको बताए ।
सांसद रामनारायण बिडारीले मकवानपुरलाई औद्योगिक शान्ति क्षेत्र घोषणा गर्नुपर्ने र हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न सरकारले थप जग्गा उपलब्ध गराईदिनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, नेकपा (एमाले)का मकवानपुरका मुनु सिग्देल, मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष माधव रिसाल र वर्तमान अध्यक्ष राजकुमार न्यौपानेले उद्योग सञ्चालनमा आर्थिक सङ्कट आइपरेपनि बैंकले ऋण प्रदान गर्दा व्याज र किस्तामा सहुलियत प्रदान गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री दाहालले सांसद बिडारी, सञ्चारकर्मीहरु सुदीप सिवाकोटी, एमपी शर्मा र बालकृष्ण अधिकारीलाई सम्मान गरेका थिए।
यो पनि पढ्नुस्।
‘काठमाडौंलाई ठूलो धक्का दिन जरुरी छ’