२० मंसिर, एजेन्सी । भारतको हैदरावादमा एक महिला पशु चिकित्सकलाई सामुहिक बलात्कारपछि हत्या गर्ने ४ जनालाई इन्काउन्टर गरिएको छ । महिलालाई बलात्कारपछि हत्या गरेको राजमार्गमै लगेर इन्काउन्टर गरिएको हो । तेलाङ्गना प्रहरीले एनएच ४४ राजमार्गमा शुक्रबार बिहान ३ बजे उनीहरुको इन्काउन्टर गरेको तेलाङ्गना प्रहरीका एडीजी जितेन्द्रले जानकारी दिएका छन् ।

२८ नोभेम्वर राति प्रियंका रेड्डी नामक महिला पशु चिकित्सकको सामुहिक बलात्कारपछि हत्या भएको थियो । घटनाको रिक्रियसनको लागि प्रहरीले चार आरोपीहरुलाई उक्त राजमार्गमा लगेको बीबीसीले लेखेको छ । १४ दिनको न्यायीक हिरासतपछि चार आरोपीहरुलाई बुधबार अदालतले प्रहरी हिरासतमा बुझाएको थियो । घटना रिक्रिएट गर्ने क्रममा अभियुक्तहरुले प्रहरीलाई आक्रमण गर्न खोजेपछि उनीहरुको इन्काउन्टर गरिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीको समाचारमा उल्लेख छ ।

यसअघि हैदरावादको महिला चिकित्सकमाथि भएको बलात्कारपछिको हत्याको विरोधमा देशभर प्रदर्शन भइरहेको छ । सडमा आएका महिलाहरुले सुरक्षामाथि प्रश्न उठाएका छन् । प्रहरीको अनुसन्धानमा आरोपीहरुको भिडियो र पुरै घटना सार्वजनिक भएको थियो भने आरोपीहरुलाई हैदरावादको केरलाकुल्ली जेलमा बन्द गरिएको थियो ।

हैदरावादमा प्रहरीले चार आरोपीहरुलाई थुनामा राख्नेवित्तिकै प्रदर्शनकारीहरुले उक्त प्रहरीचौकी घेरेका थिए । प्रदर्शनकारीहरुको संख्या बढेसँगै प्रहरीले पनि सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको थियो । त्यसपछि उनीहरुलाई त्यहाँबाट निकालेर हैदरावादको केन्द्रीय कारागार पु¥याएर फरक–फरक राखियो । एकअर्कालाई आक्रमण नगरुन र अनुसन्धानमा बाधा नगरोस् भन्ने हेतुले उनीहरुलाई छुट्टाछुट्टै राखिएको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस्ः सुनसान सडकमा डाक्टरको स्कुटी पञ्चर, बिहान भेटियो जलेको शव

यसअगाडि प्रहरीले गरेको अनुसन्धानमा धेरै महत्वपूर्ण कुराहरुको खुलासा भएको थियो । ती चार आरोपीहरु बाल्यकालदेखिको साथीहरु थिए । आरोपी मोहम्मद आरिफ ट्रक ड्राइभर थिए अन्य तीन क्लिनर थिए । २७ नोभेम्बर राति महिला चिकित्सकलाई ट्रक ड्राइभर उनीहरुको साथीले अपहरण गरेका थिए ।

आरोपीहरुले पीडितलाई सुनसान जंगलमा लगि रक्सी खुवाएर सामु्हिक बलात्कार गरेका थिए । ती मध्येका एक अरोपीले पीडित महिलाको नाक र मुख थुनेर हत्या गरेका थिए । हत्यापछि त्यहाँबाट २७ किलोमिटर पर लगेर पेट्रोल छर्केर उनको शव जलाइएको थियो । शवसँगै पीडितको फोन, घडी लगाएतका सामानहरु छोडिएका थिए ।