२० चैत, भीमदत्तनगर ।

बितेको १५ महिनामा कञ्चनपुरमा पाँच हजार बढी बेरोजगार युवायुवती विदेश पलायन भएका छन् । देशमा रोजगारीका अवसर नदेखेपछि उनीहरु विदेशिन बाध्य भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा रहेको वैदेशिक रोजगार सूचना केन्द्रले दिएको जानकारीअनुसार विसं २०७० माघदेखि हालसम्म पाँच हजार ५२ जना युवायुवती विदेशिएका छन् । सूचना केन्द्रका परामर्शदाता लक्ष्मी बोहराले बेरोजगारी, अशिक्षा, गरिबीलगायतका विभिन्न कारणले उनिहरु विदेशिने गरेको बताए ।

उनले प्रशासनमा राहदानी बनाउन आउने युवायुवतीलाई विदेश जानुअघि परार्मशसमेत दिइरहेको बताए । “साक्षरदेखि एसएलसीसम्म पढेका बढी विदेशिन थालेका छन् ।” उनले भने–“निरक्षर पनि विदेशिने क्रम बढेको छ ।” कञ्चनपुरका युवायुवती बढीजसो खाडीमुलुक जाने गरेको उनको भनाइ छ ।

Nepalese-migrant-workers

कञ्चनपुरमा विदेशिनेमा २४४ महिला र बाँकी सबै पुरुष रहेका छन् । आप्रवासी नेपाल समन्वय समितिको पहलमा स्थापना गरिएको सूचना केन्द्रले विदैशिक रोजगारीमा जाने युवायुवतीलाई आवश्यक परार्मश दिँदै आएको छ ।

प्रायः राहदानी बनाउन आउनेको रोजगारीको प्रमुख गन्तव्य मलेसिया, दुबई, कतारलगायतका देश बन्ने गरेको परार्मशदाता बोहराले बताए । “विदेशमा गएर समस्यामा नपरुन, दलालको फन्दाबाट जोगिउन भनेर परार्मश दिन थालिएको छ” उनले भने । केही वर्षअघिसम्म यहाँका युवायुवतीको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहर बन्ने गरेको भए पनि पछिल्ला वर्षमा खाडीमुलुक रोजगारीको गन्तव्य बन्न थालेका छन् ।

परिश्रम कडा गर्नुपर्ने परे पनि राम्रो आम्दानी भारतभन्दा खाडीमुलुकमा हुने गरेका कारण आर्थिक स्रोत बलियो बनाउन युवायुवती दैनिकजसो रोजगारीका लागि बाहिरिन बाध्य छन् ।