५ असोज, काठमाडौं ।

नयाँ संविधान जारी हुनासाथ आइतबार असन्तोष प्रकट गरेको भारतले भोलिपल्टै फेरि दिल्लीबाटै आक्रोश पोखेको छ । छिमेकी चीनले भने सोमबार नयाँ संविधानको स्वागत गरेको छ । जापान, नर्वे, स्विट्जरल्यान्डले पनि संविधान आएकोमा बधाई दिएका छन् भने संयुक्त राष्ट्रसंघ अझै मौन छ ।

भारतीय विदेश मन्त्रालयले संविधान जारीपछि दोस्रो विज्ञप्ति जारी गर्दै आफ्ना सुझाब सम्बोधन नभए भविष्यमा नाकाबन्दी लगाउनेसम्मको घटना दोहोरिने संकेत दिएको छ । भारतले सन् १९८९ मा चीनबाट हतियार ल्याएको विरोधमा नेपालविरुद्ध नाकाबन्दी गरेको थियो । संविधान जारी भएयता नेपालमा मृत्युका घटना भएका छैनन्, तर भारतले त्यस्तो घटना भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

तराई–मधेसको आन्दोलनका कारण मालवाहक कम्पनी र यातायातकर्मीको आवतजावतमा कठिनाइ परेको पनि भारतको टिप्पणी छ । ‘विद्यमान असहजताले गर्दा हाम्रा मालवाहक कम्पनी तथा यातायातकर्मीले नेपाल आवतजावतमा भोग्नुपरेको कठिनाइसहित तिनका सुरक्षा चिन्ता प्रकट गरेका छन्,’ भारतको विदेश मन्त्रालयले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कूटनीतिज्ञहरु भन्छन्, ‘यो विज्ञप्ति भविष्यमा भारतबाट नाकाबन्दी हुनसक्ने पूर्वसंकेत हुनसक्छ ।’ प्रमुख तीन दलका शीर्ष नेताले सोमबार सैनिक मञ्चबाट भारतको भूमिकाप्रति आलोचना गरेका थिए । त्यसको जवाफ दिँदै भारतले नाकाबन्दी लगाउन सक्नेसम्मको संकेत दिएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।