१५ पुस, काठमाडौं । कञ्चनपुरमा आफ्नै ४ वर्षीया छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१८ सुकुम्बासी टोल बस्ने ३० वर्षीय ईन्द्र बहादुर चुनारा रहेका छन् । उनीमाथि आफ्नै ४ वर्षीया छोरी सुशिला चुनारालाई कुटपिट गरी हत्या गरेको अभियोग छ । चुनारालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी ईन्द्र बहादुरले आफ्नै छोरीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी सुशिलाको अञ्चल अस्पताल महाकालीमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।