१४ असोज, काठमाण्डौ ।

विभिन्न ८ कम्युनिष्ट पार्टीका महिला संगठनले नेपाल माथि अघोषित नाकावन्दी गर्ने भारतीय कदमको चर्को आलोचना गरेका छन् ।

बैद्य माओवादी, चन्द माओवादी निकटका अखिल नेपाल महिला संघ (क्रान्तिकारी), राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपालमहिला संघ, नेकपा माले निकटको अखिल नेपाल प्रगतिशील महिला संघ, त्यस्तै नेपाल महिला फेडरेशन, नेपाल प्रगतिशील महिला फेडेरेशन, र अ. ने. म. संघ (एकीकृत) को संयुक्त महिला संघले विज्ञप्ती निकालेर भारतीय कदमको विरोध गरेका हुन् ।

‘भारतीय विस्तारवादद्धारा नेपालको राजनीतिक मामिलामा निरन्तर हस्तक्षेपकारी भूमिका खेल्ने, नेपालमा अघोषित रुपमा हप्तौं दिनदेखि आर्थिक नाकाबन्दी गरी पेट्रोलियम पदार्थ सहित अत्यावश्यक उपभोग्य सामग्रीमाथि रोक लगाउने तथा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने लगायतका अत्यन्तै अवान्छित र अशोभनीय कार्य भैरहेका छन् ।’

विज्ञप्तीमा भनिएको छ, ‘यस प्रकारको गम्भीर राजनैतिक संकटको स्थितिमा नेपालको आन्तरिक मामिला र राष्ट्रिय स्वाधिनता तथा अस्मिता माथि हस्तक्षेप गर्दै गरिएको अघोषित नाकाबन्दीको हामी घोर विरोध र भत्र्सना गर्न चाहन्छौं ।

भूपरिवेष्ठित देशले अन्तराष्ट्रिय रुपमै पाउनुपर्ने पारवहन सुविधाको धज्जी उडाउंदै गरिएको नाकाबन्दी तुरुन्त फिर्ता लिन पनि उनीहरुले माग गरेका छन् । संयुक्त महिला संघले अघोषित नाकाबन्दी फिर्ता गर्न र आन्तरिक समस्यालाई समाधान गर्न सम्वन्धित सवैको ध्यानाकर्षण गराएको छ ।

उनीहरुले भोली दिउँसो २ बजे लैनचौर (डि.डि.सी अगाडि) जम्मा भएर भारतीय दुतावासमा विरोध पत्र बुझाउने कार्यक्रम पनि तय गरेको विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।