१० माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद अग्नी सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेता सापकोटालाई सभामुख निर्वाचित नगर्न र पक्राउ गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । नेता सापकोटामाथि काभ्रेपलान्चोकका अर्जुन लामाको हत्याको आरोप छ । सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन छ ।

सभामुख चयनका लागि आइतबार प्रतिनिधिसभामा निर्वाचन हुँदैछ । गएको असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा, न्यायाधीश केदारप्रसाद चालिसे, मीरा खड्का, हरिकृष्ण कार्की र दीपककुमार कार्कीको संवैधानिक इजलासले सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको वा नपरेकोबारे सोधेको थियो ।