४ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएका अघोरी बाबा उर्फ विजय केसीले फेरि अर्को फण्डा खडा गरेर चर्चामा आएका छन् । उनले शारदा पाण्डेसँग विवाह नै नगरेको भन्दै दुईचार दिन सँगै हिंड्दैमा बिबाह नहुने जिकिर समेत गरेका छन् ।

उनकी श्रीमती भनिएकी शारदा पाण्डे ठगी काण्डमा जेल परेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । बाँच्दासम्म साथै रहने कसम खाएको बताउने उनी र शारदा बिबाहिता जोडीका रुपमा सँगै बस्दै आएका थिए ।

अमेरिका पुर्याइदिन्छु भनी विश्वासमा लिएर आफ्नै पूर्व पतिसँग विवाह गराई पैसा लिएर एक महिलालाई अमेरिका नपुर्याएपछि पाण्डे ठगी मुद्दामा जेल परेकी छिन् ।

२० वर्ष अघिदेखि अघोर तपस्या गर्दै अघोरी बनेका बाबा विजय केसी सुरुका दिनमा मिडियाको सम्पर्कमा आउँदा विवाह आफ्नो रोजाइमा नपरेको र विवाहले ‘लाइफ ड्यामेज’ गर्ने भन्दै निकै उपदेशात्क प्रवचन दिने गरेका थिए ।

तर उनको त्यो क्षणसँग सुन्दरी शारदा पाण्डेको प्रवेशले उनको मनमथिंगलमा भूकम्प आई पूर्ववचनहरु गल्र्यामगुर्लुम्म ढल्न पुगेका थिए । उनले ‘लाइफ ड्यामेज’ गर्ने विवाहलाई ‘लाइफ सेटिल’ गर्ने उपायका रुपमा स्वीकार गरे । विडम्बना ! विवाहको छोटो समयमै उनको लाइफ उनको पूर्वानुमान झैं ड्यामेजतिरै गयो ।

अहिले उनी ती शारदा पाण्डेको नामै सुन्न र लिन नचाहने अवस्थामा छन् । उनकी श्रीमती भनिदिने बित्तिकै रन्कन थालिहाल्छन् । उनी प्रतिप्रश्न गर्छन्– ‘बिहे गरेको कुनै प्रमाण छैन, कसरी मेरी श्रीमती ?’ यसमा उनको थप भनाइ छ–‘कसैलाई कसैलाई प्लेन चढाएर घुमाउन लगेको छ भने हनिमुन लगेको भन्न मिल्दैन ।’