१९ भदौ, एजेन्सी । सुन्दा पत्यार नलाग्ला तर एक अनुसन्धानले पत्याउनै गाह्रो पर्ने तथ्य बाहिर ल्याएको छ ।

हरेक चारमध्ये एक महिला लामो समय सम्बन्धमा बस्नको लागि भन्दा पनि सित्तैमा खानको लागि डेटिङ जाने अनुसन्धानले दाबी गरेको छ । अजुसा प्यासिफिक युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्नियाले यो रिपोर्ट सार्वजनिक गरेको हो । यस्तो अवस्थालाई ‘फूडी कल’ भन्ने गरिन्छ ।

अनलाइनमा गरिएको अध्ययनमा ३३ प्रतिशत महिलाहरुले आफू डेटिङ सित्तैमा खानको लागि जाने बताएका छन् । उता ६७ प्रतिशत महिलाहरुले भने आफूहरु खानको लागि मात्रै डेटिङ नजाने बताएका छन् ।

३४ वर्षका ३ सय ५७ जना महिलाहरुमा यो सर्वे गरिएको थियो । सर्वेमा महिलाहरुलाई के तपाईंहरु खानको लागि डेटिङ जानुहुन्छ भनेर प्रश्न सोधिएको थियो । जसको जवाफ हो वा होइनमा दिनुपर्ने थियो ।

यस्तै अर्को अनुसन्धान ८ सय २० जनामा गरिएको थियो । यो अनुसन्धानको २३ प्रतिशत महिलाहरुले उनीहरु फ्रिमा खाना खानकै लागि डेटिङ जानेगरेको खुलासा भएको छ ।