२ फागुन, एजेन्सी । अन्टार्टिकाको तापक्रम पहिलोपटक २० डिग्री भन्दामाथि पुगेको छ । अनुसन्धानकर्ताहरुले अन्टार्टिका महाद्वीपको किनाराको तापक्रम २० दशमलब ७५ सेल्सियस मापन गरेका बीबीसीले जनाएको छ ।

ब्राजिलका बैज्ञानिक कार्लोस शेफरले एएफपीसँग भने, अन्टार्टिकामा यस्तो तापक्रम अहिलेसम्म थाहा छैन । ९ फेब्रुअरीमा एकपटक मात्रै यो तापमान रेकर्ड भएको हो । अन्टार्टिक प्रायद्वीपमा १८ दशमलब ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो यो पनि रेकर्ड नै थियो ।

बैज्ञानिक शेफरले ब्यापक अध्ययन नभई एकपटक मात्रै मापन गरिएकाले यसलाई आधार मानेर भविष्यवाणी गर्न भने मुश्किल हुने बताए । हामी भविष्यमा जलवायू परिवर्तनको आशंकाका लागि यसलाई उपयोग गर्न सक्दैनौ उनले भने, यो केवल एक संकेत मात्रै हो कि त्यहाँ केही फरक भइरहेको छ ।

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनका अनुसार पछिल्लो ५० वर्षमा अन्टार्टिक महाद्वीपको तापमान लगभग ३ डिग्री सेल्सिय बढेको छ । पश्चिमी तटमा रहेको ८७ प्रतिशत ग्लेशियर पछाडी हटेको छ । पछिल्लो १२ वर्षमा ग्लेसियर जलवायू परिवर्तनका कारण तिब्र रुपमा पछाडी हटिरहेको देखिएको छ ।

गत जनवरीमा पनि अन्टार्टिकाको तापक्रमले रेकर्ड ब्रेक गरेको थियो । पुरै अन्टार्टिक क्षेत्र (महद्वीप, द्वीप र महासागर)को पछिल्लो तापक्रमको रेकर्ड सन् १९८२ मा १९ दशमलब ८ डिग्री रहेको थियो ।