कुशल श्रेष्ठ

यो ब्रह्माण्ड अनि यो अन्तरिक्ष कति विशाल अनि रहस्यमय छ भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ। यसको कयौं रहस्य विज्ञानले पनि अहिलेसम्म समाधान गर्न सकेको छैन।

space mystry

यसको सृष्टि कहिले भयो, कसरी भयो, यसको आकार कत्रो छ, अनि यसको अन्त्य हुन्छ कि हुँदैन, अन्त्य हुने भए कहिले हुन्छ? भन्ने प्रश्नहरूको उत्तर अझसम्म रहस्यमय नै छ। यसको बारेमा खोज र अनुसन्धान पनि नभएका होइनन्, तर पनि पर्याप्त प्रविधिको कमीले गर्दा वैज्ञानिकहरू निश्चित छैनन।

पृथ्वी लगायतका सारा संसारको उत्पत्ति भएको समयदेखि अहिलेसम्ममा धेरै रहस्यमय अनि अनौठा घटनाहरू घटेका छन्। तीमध्ये यी ५ मूख्य घटना वैज्ञानिकहरूको पनि चासोको विषय बन्दै आएको छ।

१. ब्रह्माण्डको उत्पति

हरेक कुराको सुरुवात सँगै अन्त्य हुनु जरूरी छ, यो नै प्रकृतिको प्रमुख नियम हो। यो ब्रह्माण्डको सृष्टिको बारेमा विभिन्न जाति तथा धर्मको आ-आफ्नै सिद्धान्त रहेको छ। वैज्ञानिकहरू माझ यसको उत्पत्तिको बारेमा कयौँ सिद्धान्त प्रख्यात छन्।

bigbang blast

ब्रह्माण्डमा रहेका असङ्ख्य तारापुञ्ज मध्ये हाम्रो आकाशगङ्गा तारापुञ्जमा मात्रै करीब १ खर्ब ताराहरू छन् र सारा ब्रह्माण्डभरीमा कम्तीमा पनि १ खर्ब ४० अर्ब तारापुञ्जहरू रहेको वैज्ञानिक मान्यता छ। यदि एउटा तारापुञ्जलाई केराउको गेडा मान्ने हो भने, ब्रह्माण्डभरीको तारापुञ्जले एउटा रङ्गशाला नै भरिनेथ्यो। तर यो त सबै अनुमान मात्र हो!

त्यसोभए, यस्तो अकल्पनीय विशाल ब्रह्माण्डको सृष्टि कसरी भयो? यसको उत्तरको लागि शताब्दीऔँ देखि वैज्ञानिकहरू मरिमेटेका छन्, हरेकले आफ्नै सिद्धान्तको विकास गरेका छन्।

करीब १४ अर्ब वर्षअगाडि, ब्रह्माण्डका यी सारा पदार्थहरू एउटै विन्दुबाट भयङ्कर बिस्फोट भइ उत्पन्न भएको थियो। बिस्फोट हुनुभन्दा पहिले त्यो सानो बिन्दुको घनत्व र त्यसमा भएको ऊर्जा अकल्पनि थियो भनि मानिन्छ।

बिस्फोट भएपछिका विस्फोटबाट निस्केका पदार्थ अनि उर्जा अकल्पनीय दरले फैलदै हरेक सेकेण्डमा यसको क्षेत्रफल र तापक्रम बढ्दै अन्तरिक्ष र समयको निर्माण भएको मानिन्छ। विस्फोटको पलभरमै गुरुत्वाकर्षण लगायतका अन्य सबै बलहरू पैदा भए। त्यसबाट निस्केको ऊर्जा पदार्थ र एण्टी-पदार्थमा परिणत भयो।

केही सेकेण्डमा प्रोटोन र न्यूट्रोनहरू बन्न गए, केहि मिनेटमा यी प्रोटोन र न्यूट्रोनहरू एक-आपसमा जोडिएर हाइड्रोजन र हिलियमका केन्द्रक (nuclei) बन्न पुगे। त्यसको करीब ३ लाख वर्षपछि, ती केन्द्रकले अरू इलेक्ट्रोनलाई तानेर परमाणु बन्न पुग्यो, जसबाट सारा ब्रह्माण्ड हाइड्रोजन र हिलियम ग्यासको बादलले भरियो। त्यसपछि यी हाइड्रोजन र हिलियमका परमाणुहरूले अन्य इलेक्ट्रोनसंग प्रतिक्रिया गरि अरू नयाँ तत्वहरूको निर्माण भयो।

Big-Bang-Theory-Illustrated

अन्तरिक्षको उत्पति समयक्रम अनुसार बिग ब्याङ्ग सिद्धान्त: अन्तरिक्षमा भएको ठुलो विस्फोट पश्चात ४ अर्बसम्मको अन्तरिक्ष इतिहास, कुन समयमा के के बने भनि देखाइएको छ

यो सिद्धान्तलाई ‘बिग ब्याङ्ग सिद्धान्त’ (Big Bang Theory) भनिन्छ। यो सिद्धान्त अनुसार नै ब्रह्माण्डको उत्पत्ति भएको हो भन्ने कुनै वैज्ञानिक प्रमाण भेटिएको छैन। तर, धेरै वैज्ञानिकहरुको यो सिद्धान्तमा मत मिल्नाले यहि घटनालाई ब्रह्माण्डको सृष्टिको आधार मानिदैँ आएको छ। यो सिद्धान्तको अनुसार, ब्रह्माण्ड अझै पनि विस्तार हुने क्रममै छ। सबै ग्रह, उपग्रह, सूर्य अनि ताराहरू भनेको केवल त्यही सानो विन्दुको बिस्फोटको छर्रा हो भन्न सकिन्छ, जुन अझै पनि उछिट्टिँदै छ। पृथ्वी पनि त्यही छर्राहरूमध्ये एक हो, जुन द्रूतगतिमा अन्य आकाशिय पिण्डबाट निरन्तर टाढा फैलदैछ।

२. ब्रह्माण्डको आकार

बिग ब्याङ्ग सिद्धान्तको अनुसार, यो ब्रह्माण्ड अझै पनि विस्तार हुँदै छ र यसको आकार निरन्तर फैलँदैछ। त्यसैले पुरै ब्रह्माण्डको आकार अझसम्म पनि पत्ता लाग्न सकेको छैन, ब्रह्माण्डको आकार सिमित पनि हुनसक्छ, तर यो फैलिरहेको हुँदा यसको आकार असिमित हुनेमै वैज्ञानिकहरू दाबी गर्दै आएका छन्।

Obserable universe and position of earth

तस्बिरमा: देख्न सकिने अन्तरिक्ष, आकाशगंगा तारापुञ्च र पृथ्वी कहाँ छ

अहिलेसम्मको प्रविधिले पत्ता लगाएअनुसार ब्रह्माण्डको हालको समयको व्यास, ९१ अर्ब प्रकाश वर्ष रहेको छ, जसलाई वैज्ञानिकहरू ‘अबजर्भेबल युनिभर्स’ (Observable Universe) भन्ने गर्छन्। अर्थात देख्न सकिने मात्र अन्तरिक्ष यति विशाल छ कि देख्न सकिएको अन्तरिक्षको एक कुना बाट अर्को कुनामा प्रकाशको गतिमा ( १ सेकेन्डमा करिब ३ लाख किलोमिटरको गतिमा) जाँदा पनि ९१ अर्ब वर्ष लाग्छ।

तर पुरै ब्रह्माण्डको आकार यो भन्दा पनि ठूलो रहेको छ जसलाई अहिलेको प्रविधिले मापन गर्न सकेको छैन।

३. ब्ल्याक होल

ब्रह्माण्डमा भएका रहस्यमय वस्तु र घटनाहरूमध्येमा ब्ल्याक होल पनि पर्दछ। यो के हो, कसरी बन्छ भन्ने कुराको केवल सिद्धान्त मात्र बनेको छ।black hole and matter

वैज्ञानिक परिकल्पना अनुसार, ब्ल्याक होल अन्तरिक्षमा भएको क्षेत्र हो जहाँ भएको अत्याधिक गुरुत्व बलका कारण प्रकाश पनि बाहिरिन सक्दैन। आइन्स्टाइनको ‘सामान्य सापेक्षताको सिद्धान्त’को (General Theory of Relativity) अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व, असिमित पिण्ड अनि अत्याधिक गुरुत्वबल भएको कालो पिण्ड नै ब्ल्याक होल हो। गुरुत्वबल असिमित हुनाले यसबाट प्रकाश पनि बाहिर निस्कन सक्दैन, त्यसैले अन्तरिक्षमा यसलाई देख्न अत्याधुनिक प्रविधिको खाँचो पर्दछ।

ब्ल्याक होलको वरिपरि गणितीय तथ्यहरूको आधारमा परिभाषित गरिएको काल्पनिक सतह हुन्छ, जसलाई ‘घटना क्षितिज’ (Event Horizon) भनिन्छ। यो क्षेत्र ब्ल्याक होलको बाहिरी घेरा हो। यो घेरा कटेर ब्ल्याक होल तर्फ गएका कुनैपनि वस्तु बाहिर आउन सक्दैन, त्यसैले यो घेरालाई वैज्ञानिकहरूले ‘पोइन्ट अफ नो रिटर्न’ (Point of No Return) को संज्ञा दिएका छन्। ब्ल्याक होलको इभेन्ट होराइजनको आकार ब्ल्याक होलको आकारमा निर्भर हुन्छ।

पृथ्वी लगायतका ग्रहले सूर्यलाई परिक्रममा गरे झै प्रत्यक तारापुञ्जको केन्द्रमा एक ठुलो ब्ल्याक होल हुने र तारापुञ्जका सारा पिण्ड, तारा, सूर्य, पृथ्वी लगायत सबै ग्रहले सो ब्ल्याक होललाई परिक्रममा गर्ने वैज्ञानिकहरू विश्वास गर्छन्। (ब्ल्याक होलको बारेमा थप जानकारी पाउन यहाँ क्लिक गर्नुहोस्)

४. डार्क म्याटर र डार्क इनर्जी

२० औँ शताब्दीमा भएको खोजबाट तारापुञ्जहरूले ठाउँ सर्दै छ भनेर थाहा भएपछि, यो ब्रह्माण्ड विस्तार हुँदै छ भनेर पुष्टि भएको थियो। फेरि १९९० तिरको अवलोकनबाट यो ब्रह्माण्डको विस्तार हुने दर पनि बढ्दो छ भनेर पत्ता लागेको थियो। यसले, ऊर्जाको अधिकांश भाग कुनै अज्ञात रूपमा बसेको छ भन्ने सङ्केत दिएको थियो, जसलाई ‘डार्क ऊर्जा’ (Dark Energy) भनिन्छ। त्यसै गरी ब्रह्माण्डको अधिकांश पिण्ड पनि कुनै अज्ञात रूपमा बसेको छ, जसलाई ‘डार्क पदार्थ’ (Dark Matter) भनिन्छ।

dark matter percent in universe

यो सारा ब्रह्माण्ड डार्क ऊर्जा, डार्क पदार्थ र सामान्य पदार्थले बनेको अनुमान छ। सामान्य पदार्थअन्तर्गत, परमाणु, तारा, तारापुञ्ज र जीवन पर्दछन्, जसले ब्रह्माण्डको केवल ४.९ प्रतिशत मात्र ओगटेको छ। तर डार्क ऊर्जा र डार्क पदार्थको विशेषता भने अझसम्म पत्ता लाग्न सकेको छैन। पदार्थको रहस्यमय थुप्रो, डार्क पदार्थले ब्रह्माण्डको २६.८ प्रतिशत ओगटेको छ। त्यस्तै खाली ठाउँको ऊर्जा- डार्क ऊर्जा, जसले ब्रह्माण्डलाई विस्तार गरिरहेको छ, यसले पुरै ब्रह्माण्डको ६८.३ प्रतिशत ओगटेको छ। यसलगायतका सूचनाहरू जस्तैः यसमा के-कस्ता वस्तुहरू छन्, यसको आकार कत्रो छ अनि यसमा कति ऊर्जा रहेको छ भन्ने कुरा अझसम्म पनि अज्ञात नै छ।

५. पृथ्वीबाहिर जीवन छ कि छैन?

हाम्रो ब्रह्माण्ड ५०,००,००,००,००० तारापञ्जहरू मिलेर बनेको छ, जुन अहिलेसम्मको अनुमान हो। हरेक तारापुञ्जमा १,००,००,००,००,००० देखि १०,००,००,००,००,००० ताराहरू अवस्थित छन्। हाम्रो आकाशगङ्गा तारापुञ्जमा मात्रै करीब १०,००,००,००० ग्रहहरू रहेका छन्। यति ठूलो ब्रह्माण्डमा जिवित प्राणी हामी मात्रै छौँ कि अरू पनि छन् भन्ने प्रश्न सबैको मनमा गुज्रिरहेको हुन्छ। यहि प्रश्नको उत्तर पाउनको लागि वैज्ञानिकहरूले पृथ्वीबाहिरका ग्रहहरूमा पनि अनुसन्धान गर्न थालेका छन्। मङ्गल ग्रहमा पनि धेरै वर्ष पहिले जीवनको सम्भावना रहेको कुरा पत्ता लगाएपनि हाल कुनै पनि एलियन प्राणीहरू फेला पार्न सकेका छैनन्।alien life

केलाई जीवन भन्ने कुराको धारणाले पनि यसमा मूख्य भूमिका खेलिरहेको हुन्छ। त्यसैले जीवनको परिभाषालाई परिवर्तन गरेर, पृथ्वीभन्दा बाहिर जीवनको रूप कस्तो हुन्छ भनि परिकल्पना तथा सिद्धान्तहरू बनाएर वैज्ञानिकहरू यसको अनुसन्धानमा लागिरहेका छन्।

जीवन भएपनि हामीले कल्पना गरेझै नभएको हुनसक्ने सम्भावना पनि छ। पृथ्वीमा पनि दैनिक जस्तो एलियन र एलियन यान (युएफओ) देखिने घटना सार्वजनिक भइरहेका हुन्छन्। तर ती कुनै पनि पुष्टी भएका छैनन, अधिकांस त जहाज, ठुला बेलुन, बादल आदिले पैदा गर्ने दृष्टभ्रमलाई नै एलियन यान सोच्ने गरिएको पाइन्छ।

यो पनि पढ्नुस्।
ब्रह्माण्डको सबैभन्दा ठुलो विस्फोट घटना, देखियो अहिलेसम्म कै ठुलो सुपरनोभा
पृथ्वी संकटमा: जलवायु परिवर्तन सोचेभन्दा बढी घातक सावित हुँदै
मङ्गल ग्रहमा नाइट्रोजन भेटियो!!
मङ्गल ग्रहमा भेटियो ‘तैरिएको चम्चा’
मंगल ग्रहको वायुमण्डलबारे नयाँ तथ्य: पृथ्वी पनि मंगल झै हुने सम्भावना उच्च