एजेन्सी । भारतीय क्रिकेट खेलाडी युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले मुम्बईमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

सन् २००७ को टि ट्वेन्टी वल्र्ड कप र २०११ को क्रिकेट वल्र्ड कप जित्ने क्रममा भारतीय टोलीका नायक रहेका युवराजले सन्यास घोषणा गर्दै गर्दा नजिकै रहेकी आमाले आँशु खसालेकी थिइन् । अब आइसीसीद्वारा मान्यताप्राप्त टि ट्वेन्टी प्रतियोगिता खेल्ने उनको योजना छ ।

आफूले लामो समयदेखि सन्यासको घोषणा गर्ने तयारीमा रहेको भन्दै उनले भने, ‘बाल्यकाल देखि नै मैले देशको लागि खेलोस् भन्ने बुबाको चाहना पुरा गर्ने प्रयास गरेँ ।’ युवराज सिंहले पछिल्लो समय लामो समयदेखि भारतीय टिमबाट खेलेका छैनन् । भारतीय टिमका लागि ४० टेष्ट खेलेका उनले १९ सय रन बनाएका छन् । जसमा ३ शतक र ११ अर्धशतक समावेश छ । चालू विश्वकप क्रिकेटमा खेल्ने चाहना भएपनि उनी फर्ममा नरहेका कारण टिममा परेनन् ।