७ मंसिर,काठमाडौँ । पाँचौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशत्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ ।

भद्रकालीस्थित आर्मी हेडक्वाटरको खेल मैदानमा आज भएको फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई दुईका विरुद्ध तीन गोलले पराजित गर्दै उपाधिमाथि हात पारेका हुन् ।

एपिएफको जितमा सावित्रा भण्डारी, रेणुका नगरकोटी र सजना रानाले गोल गरे । भण्डारीले खेलको सुरुआती २ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन् ।

त्यसैगरी नगरकोटीले खेलको पहिलो हाफको ४२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाइन भने अर्की खेलाडी रानाले खेलको ६९औँ मिनेटमा थप एक गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन् ।

यता आर्मीका लागि सपना लामाले खेलको पहिलो हाफको ३२औँ मिनेटमा गोल गरिन् भने कृष्णा खत्रीले खेलको दोस्रो हाफको अतिरिक्त समयमा एक गोल थपिन् । एपिएफले उपाधिसहित रु तीन लाख प्राप्त ग¥यो भने उपविजेतामा चित्त बुझाएको आर्मीले रु एक लाख ५० हजार पायो ।

प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गर्ने दुई टोली नेपाल प्रहरी क्लब र मध्यमाञ्चल विकास क्षेत्रका महिला टोलीले जनही रु ५० हजार प्राप्त गरे ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि आर्मीकी सपना लामाले पाइन् । उनले उपाधिसहित एक थान स्कुटर प्राप्त गरिन् । एपिएफकी सावित्रा भण्डारी सर्वोत्कृष्ट गोलकर्ता बनिन् । उनले प्रतियोगिता अवधिभर १२ गोल गरेकी थिइन् । उपाधिसहित भण्डारीले रु २५ हजार प्राप्त गरिन् ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जीला तुम्हाम्फे, उत्कृष्ट डिफेन्डर एपिएफकै मनमाया लिम्बू, उत्कृष्ट फरवार्ड आर्मीकी कृष्णा खत्री उत्कृष्ट मिडफिल्डर आर्मीकै दीपा राई चुनिन भने उत्कृष्ट प्रशिक्षकको उपाधि एपिएफका जनक सिंह थारुले पाए । उनीहरुले जनही रु १० हजार प्राप्त गरे ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित पाँच विकास क्षेत्र, भारतको विहार र सिकिमको महिला फुटबल टोलीको सहभागिता रहेको थियो । रासस