६ साउन, काठमाडौं ।

केन्द्रीय विद्युत् प्रशारणलाइनमा हिजोदेखि नौगाड साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत जोडिएको छ । अपी हाइड्रोपावर कम्पनिले निर्माण गरेको सो आयोजनाबाट केही समयअघि नै परीक्षण उत्पादन गरिसकेको भएपनि केन्द्रीय प्रशारणमा भने हिजोदेखि मात्रै जोडिएको हो ।

दार्चुलाको देथला गाविसस्थित नौगाडबाट उत्पादित आठ दशमलव पाँच मेगावाट विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएपछि सुदूरपश्चिममा अहिले हुँदै आएको विद्युत्भार कटौती हुने भएको छ ।

सो आयोजनाबाट उत्पादित विद्युत्लाई चमेलिया जलविद्युत आयोजनाको विद्युत् गृह रहेको दार्चुलाको शिखर गाविस–४ स्थित बलाँचको सवस्टेशनमा जोडेको हो । सो आयोजना सम्पन्न भएपछि सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बझाङ्, बाजुरा र अछाममा हाल भारतबाट आयातित विद्युतमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य भएको छ । कम्पनीले यसअघि नै विद्युत् वितरण गर्न प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ ।

नेपाल विद्युत् प्राधिकरणले भारतको टकनपुर प्रसारण लाइनबाट करिब १५ मेगावाट विद्युत् खरिद गरेको थियो । उक्त विद्युत् अब सुदूरपश्चिममा खपत गरी बाँकी विद्युत्लाई बाँकेको कोहलपुर, लमहीसम्म खपत गर्न सकिने चमेलिया परियोजनाका उपप्रमुख अजय दाहालले बताए ।

आयोजनाहरूको निर्माण कार्य निर्धारित समयभन्दा ढिलो मात्र सम्पन्न हुने गरेको समयमा अपी पावर कम्पनीले छोटो समयमै जलविद्युत् उत्पादन गर्न सफल भएको छ । निर्माण सुरु गरेको १८ महिनाको अवधिमै कम्पनीले सो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्न सफल भएको कम्पनीका निर्देशक महेन्द्र न्यौपानेले बताए ।

दार्चुला जिल्लाको धुलीगडा गाविसमा बाँध बनाएर जिल्लाको देथला गविसमा जलविद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन गरिएको छ । कम्पनीले देथला गाविसमा विद्यालय भवन, मन्दिर, मिल, सडक एवम् सिँचाइ आयोजना निर्माण गरिसकेको छ ।

आयोजनाबाट प्राभावित शिखर, धुलीगढा, रेथला र रानीशिखर गाविसका जनताका लागि रु १० करोड बराबरको सेयर बितरण गर्नुका साथै हालै आम सर्वसाधारणका लागि पनि रु ३० करोड बराबरको सेयर निस्काशन गरेको छ ।

सो कम्पनीले सोही जिल्लाको धुलीगडा र सिप्टी गाविसमा आठ मेगावाट क्षमताका माथिल्लो नौगाड परियोजना निर्माण गर्नका लागि अनुमति प्राप्त गरिसकेको र नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएपछि निर्माण कार्य अगाडि बढाइने निर्देशक न्यौपानेले जानकारी दिए । रासस