एजेन्सी । अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ ।

उनलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरुले ती महिलाका हत्यारालाई कारबाही माग गरेका छन् । साथै यस्ता हत्याका घटनामा संलग्नहरुलाई कानून बमोजिम कारबाहीका लागि पनि माग गरेका छन् ।

उनी विगतमा टेलिभिजनमा कार्यरत थिइन्। पत्रकार मिना मङ्गललाई राजधानी काबुलमा शनिवार दिउँसो गोली हानी हत्या गरिएको थियो । उनी राजनीतिमा पनि सहभागी थिइन्। उनी राजनीतिक सल्लाहकारको रुपमा कार्यरत थिइन्। अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले उनका हत्यारालाई पक्राउ गरी कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। अफगान प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

तर उनको हत्यामा संलग्न काे हुन् भन्ने बारेमा भने अझै प्रस्ट भइसकेको छैन । त्यहाँबाट प्राप्त एक समाचारमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा कार्यरत रहेकै बेलामा मङ्गललाई शनिबार गोली हानिएको थियो । अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा कार्यरत संघ संस्था, सर्वोच्च अदालत, महिलाविरुद्धका हिंसासम्बन्धी आयोग र नागरिक समाजका प्रतिनिधिहरुले यस हत्याबारे गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् । रासस