६ माघ, एजेन्सी । अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी १८ लडाकू मारिएका छन् । उनीहरूले अरु १० जनालाई पनि लडाकू नै भएको आशंकामा पक्राउ गरेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

देशका ३४ प्रान्त मध्ये ११ प्रान्तमा पछिल्लो २४ घण्टाको अवधिमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । त्यसैगरी १४ स्थानमा भएका सुरक्षा कारबाहीका क्रममा छ लडाकू घाइते पनि भएको सरकारी अधिकारीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

अफगानी प्रहरी र जासुसी निकायसँग समन्वय गरेर आफ्गानिस्तानको सेनाले लडाकूहरुले प्रयोग गर्दै आएका केही सवारी साधन र हतियारहरू पनि नियन्त्रणमा लिएको छ । सोही अवधिमा अफगानिस्तानी हवाई सुरक्षा फौजले तालिवान लडाकूहरुलाई लक्षित गरेर आठ हवाई आक्रमण पनि गरेको थियो ।