१५ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नमूना परीक्षण आजदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु गरिएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले धरानबाट पनि आजदेखि नमूना परीक्षण शुरु गरिएको जानकारी दिए । यसअघि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण गरिन्थ्यो । उनका अनुसार चीनबाट सामग्री आएपछि हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमूना परीक्षण गरिने छ ।

उनले आजदेखि कोभिड–१९ का बारे सर्वसाधारणलाई जानकारी दिन थप एक कल सेन्टर विस्तार गरिएको जानकारी दिए । उनका अनुसार पहिले १११५ नम्बर र अर्को नयाँ ११३३ नम्बरको कल सेन्टर थप गरिएको छ । उनले शुक्रबार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोभिड–१९ सङ्क्रमित १९ वर्षीया युवती घर फिर्ता नभएको पनि बताए ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार आज थप एक जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जानकारी दिए । यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै आएकी वाग्लुङ घर भएकी १९ वर्षीया युवतीमा सङ्क्रमण देखिएको छ । ती युवतीसँंगै नेपाली पाँच जनामा सङ्क्रमण देखिएको छ । ती युवतीको वाग्लुङमा नै उपचार हुने उनले जानकारी दिए । दिनदिनै सङ्क्रमण देखिएपछि नमूना परीक्षणको दायरा बढाइने उनले बताए । उनले सङ्क्रमण धेरै फैलिन नदिनका लागि सर्वसाधारणलाई घरभित्र बस्न अनुरोध समेत गरेका छन् ।

यसैगरी अहिलेसम्म ८७५ जनामा नमूना परीक्षण गरिएकामा पाँच जनामा मात्र सङ्क्रमण देखिएको छ । उनले शुक्रबार धनगढीस्थित प्रादेशिक अस्पतालमा सङ्क्रमण देखिएका एक युवकको अवस्था अहिले सामान्य रहेकाले तिनलाई उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री र तालीम दिइएको जानकारी दिए । उनका अनुसार अहिले टेकु अस्पतालमा चार जना आइसोलेशन र छ जना क्वारेन्टाइनमा छन् ।