२ भदौ, भोजपुर । बर्थिङ सेन्टरमा प्रसुती नगराए बच्चाको जन्मदर्ता नहुने भएको छ ।

महिलाहरुको स्वास्थ्यमा आउने समस्या समाधानको लागि भन्दै भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ ले यस्तो नियम ल्याएको हो । वडाको लेर्खकमा रहेको पाँचधारे स्वास्थ्य चौकीमा आज बर्थिङ सेन्टरको उद्घाटन भएसँगै यस्तो नियम शुरु गरिएको वडा अध्यक्ष गणेश कुमार राईले जानकारी दिए ।

बर्थिङ सेन्टर सञ्चालनमा आएसंगै भर्गवती महिलाले घरमै प्रसुती हुनुपर्ने र प्रसुतीका लागि छिमेकी वडाहरु कोट र गोगने धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । आफ्नै वडामा वर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिलाहरु पनि खुशी भएका छन् । बर्थिङ सेन्टरको स्थापनाले घरमा प्रसुती गराँउदा आमा र शिशुको ज्यान जाने जाखिम पनि कम हुने स्वास्थ्य चौकीले जनाएको छ ।

सेन्टरको वान हट वल्र्ड वाइड र वडा कार्यालयको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको हो । सेन्टर सञ्चालनका लागि वनहर्टले रु. दुई लाख ५० हजार बराबरको सामाग्री प्रदान गरेको छ भने वडा कार्यालयले रु. तीन लाख ५० हजार रुपैंया खर्च गरेको छ ।