१२ मंसिर, अमरगढी । दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभावकलाई दैनिक रु १५ दिइने भएको छ । अमरगढी नगरपालिकामा दैनिक दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभाकलाई दैनिक रु १५ का दरले भुक्तानी दिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्रका २७ विद्यालयका बालविकासदेखि ५ सम्मका एक हजार ८२५ विद्यार्थीलाई दैनिक उक्त सेवा उपलब्ध गराउने गरेको जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा कक्षा ५ सम्मका विद्यार्थीलाई एक आर्थिक वर्षको १८० दिनसम्म सो सुविधा दिने व्यवस्था अनुसार नगरपालिकाका विद्यालयमा दिवा खाजा कार्यक्रम मङ्सिर १ गतेबाट शुरु गरिएको नगरपालिकाका शिक्षा प्रमुख शाखा अधिकृत हेमन्त पन्तले बताए ।

विद्यार्थीले टिफिनमा मकै, चिउरा, चना, आलु, खिचडी, पुरी तरकारी, साग, रोटी र जाउलो जस्ता खाजाका परिकार दैनिकरुपमा ल्याउनेगरी गरी पहिलो चरणमा अभिभावकको भेला गरी दिवा खाजा अभियान शुरु गरिएको उनले बताए ।

अमरगढी–७ को उग्रतारा मावि कक्षा ५ मा अध्ययनरत छात्रा आशा रैकालले अहिले दैनिक आमाले खाजाको टिफिन तयार गरेर विद्यालय पठाउने गरेकाले दिनभरि अध्ययनमा रुचि रहने गरेको बताइन् । यस्तै दिवा खाजा कार्यक्रम शुरु भएयता विद्यालयमा आउने विद्यार्थीको उपस्थितिमा निकै बढेको शम्भुनाथ आधारभूत विद्यालय अमरगढी–६ का शिक्षक भक्त विकले बताए । पहिले ७० देखि ८० प्रतिशत विद्यार्थी दैनिक उपस्थित हुने गरेपनि अहिले दैनिक शतप्रतिशतसम्म विद्यार्थी उपस्थित हुने गरेको उनले बताए । बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थी नै कम उपस्थित हुने भएकाले अहिले उनीहरुलाई प्रोत्साहनस्वरुप दिवा खाजा भएको शिक्षक विकले बताए । रासस