१ कात्तिक, एजेन्सी । बलिउडका अभिनेता अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना भएको खबर बाहिरीरहँदा यो खबर झुटो भएको प्रमाणित भएको छ । बिहीबार साँझ ७७ वर्षीय बच्चनलाई कलेजोको समस्या देखेपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको समाचार भाइरल भइरहेको थियो ।

पछिल्लो ४० वर्षदेखि अमिताभको मेकअप आर्टिस्टको रुपमाका काम गरिरहेका दीपक सावन्तले अमिताभ अस्पताल भर्ना भन्दै आएको खबर झुटो भएको बताएका छन् । उनले भने, ‘बच्चनजी नियमित चेकजाँजको लागि अस्पताल गइरहनुहुन्छ तर भर्ना हुनुभएको हैन । नियमित चेकको लागि जानुभएको बच्चनीजीको बारेमा मिडियाले अनावश्यक हल्ला फैलायो ।’

केही दिनको लागि केबीसी (कौन बनेगा करोडपति)को सुटिङ बन्द भएकोले यस्तो हल्ला फैलिएको हुनसक्ने उनको अनुमान छ । उनले पुनः थपे, ‘केही दिनको लागि केबिसीको सुटिङ बन्द भएको हो, उहाँ नियमित चेकजाँजको लागि अस्पताल जानुभएको पनि हो तर भर्ना गरिएको हैन, अवस्था सामान्य छ ।’

अमिताभले अब छिट्टै केबिसीको सुटिङ सक्नेछन् । त्यसपछि उनी ‘चेहेरे’ नामक फिल्मको सुटिङ गर्नेछन्, त्यसलगत्तै अमिताभले रणबीर कपूर र आलिया भटको अभिनय रहेको चलचित्र ‘ब्रम्हास्त्र’को सुटिङ गर्नेछन् । ‘ब्रम्हास्त्र’को सुटिङको लागि उनी घरबाहिर रहने समेत बताइएको छ ।