१५ मंसिर, वाशिंगटन । संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।

स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर दुर्घटनाग्रस्त भएको उक्त बिमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका छन् ।

plane accidents
प्रतिकात्मक तस्विर

मृत्यु हुनेहरुमा दुई बालबालिका समेत रहेका छन् । एकल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त बिमान च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ ।

मृत्यु हुनेहरुमा बिमानका पाइलट पनि रहेका छन् । बिमानमा कूल १२ जना सवार थिए । उक्त बिमान छिमेकी इडाहो राज्यको इडाहो फल्स क्षेत्रीय बिमानस्थलतर्फ उडिरहेको थियो ।

अमेरिकी सञ्चार माध्यमका अनुसार घाइतेहरुलाई राज्यको सिओक्स फल्स नामक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अमेरिकी नागरिक उड्डयन कार्यालयले उक्त बिमान दुर्घटनाका बारेमा छानबिन थालेको जनाएको छ ।

साउथ डकोटाको च्याम्बरलिन क्षेत्रमा बाक्लो हिउँ सहितको आँधी आएका कारण बिमानका उडानहरु प्रभावित भएका छन् । रासस/एएफपी