काठमाडौं, ५ चैत । पत्नी सिता दाहालको उपचारका लागि अमेरिका पुगेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्ड पक्राउ पर्न सक्ने खतरा बढेको छ ।

उनी अमेरिका पुगेपछि अमेरिका र नेपालमा समेत उजुरी र ज्ञापनपत्र दिएर उनलाई पक्राउ गर्न माग गरिएको छ । अमेरिकाको ‘आतंककारी’ सूचीमा रहेका प्रचण्ड भनेर चिनिने पुष्पकमल दाहाल अमेरिका प्रवेश गरेको भन्दै अमेरिकी संघीय जाँच ब्युरोमा उजुरी परेको छ ।

केन्टुकी युनिभर्सिटीका रिसर्च यसोसियट तिलक बहादुर श्रेष्ठले नेपालका पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई पक्राउ गर्न माग गर्दै उजुरी दिएका हुन् । ‘आतंककारीले अमेरिका भ्रमण गरिरहेको’ विषय उल्लेख गरिएको उजुरीमा प्रचण्डलाई १७ हजार निर्दोष गरीव नेपालीको हत्या गरेको आरोप लगाइएको छ ।

प्रचण्डले सितालाई जोन हकिङ्स अस्पतालमा उपचार गराइरहेको पनि उजुरीमा उल्लेख गरिएको छ । श्रेष्ठले आफूलाई उजुरी गर्नुपर्ने निकाय जानकारी नभएको भन्दै सम्बन्धित निकायमा उजुरी फरवार्ड गरिदिनसमेत आग्रह गरेका छन् । अमेरिकामा उजुरी परेलगत्तै नेपालमा पनि डाक्टर गोबिन्द केसीलगायतले दश वर्षे माओवादी द्वन्द्वको अवधिमा युद्ध अपराध, मानवता विरुद्धको अपराध लगायतका अन्य जघन्य वा गम्भीर अपराधका घटनाका दोषीलाई कारवाहीको माग गरेका छन् ।

डाक्टर केसीसहित चार जनाले उनीहरुलाई कारवाहीको माग गर्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउनेमा डाक्टर केसी, अधिवक्ता ओमप्रकाश अर्याल, इन्जिनियर प्रितम सुवेदी र अधिवक्ता शिवहरी तिमल्सिना रहेका छन् ।
(ज्ञापनपत्र यस्ताे छ)