४ माघ, एजेन्सी । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । उताह राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ । प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको हो ।

“सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्,” ग्रान्ट्सभिल्लेका एक जना प्रहरी अधिकृत होन्डा फिल्डसले भने ।

उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँच जनाको अस्पतालमा उपचार भइरेको जानकारी दिए । आक्रमण गर्ने र पीडितहरु एउटै परिवारका हुन की होइनन् भन्ने अहिले यकिन भइनसकेको पनि उनले बताए ।

यसअघि पनि अमेरिकाको विभिन्न शहरहरुमा गोली चलेर कैयौँको मृत्यु भइसकेको छ । अमेरिकी सरकारले यसमा गम्भीर चासो नदेखाउँदा म हप्तैपिच्छे कैयौँले ज्यान गुमाउन बाध्य भएका छन् ।