३० असोज, एजेन्सी । चीनले सोलोमनको एक विशाल द्विपलाई ७५ वर्षको लागि भाडामा लिएको छ । केहीदिन अघि सोलोमनले चीनसँग कुटनीतिक सम्बन्ध शुरु गरेको हो । यसको केही साताअघिसम्म सोलोमन प्रशान्त क्षेत्र ताइवानको प्रमुख सहयोगीको रुपमा रहेको थियो । चीनले साेलाेमन द्विप भाडामा लिएकाे विषयमा औपचारिक रुपमा कुनै अभिव्यक्ति दिएको छैन । तुलागी नामक यस द्विप बेलायत र जापानको दक्षिण प्रशांन्तको मुख्यालय पनि बनिसकेको थियो । साथै दोश्रो विश्वयुद्धको समयमा गहिराईका कारण सेनाको हतियारनै बनेको थियो । अब यो क्षेत्र चीनले आफ्नो बनाएको छ ।

न्यूयोर्क टाइम्सकाे रिपोर्टका अनुसार पछिल्लो केही महिना चीन र सोलोमन द्विपकाे प्रान्तिय सरकारबीच एक गोप्य सम्झौता भएको थियो । जसबाट चिनियाँ कम्युनिष्ट पार्टीसँग जोडिएको एक कम्पनीले पूरै तुलागी द्विप र यसको आसपासको क्षेत्रको विकासकार्यको लागि अधिकार पाएका थिए । यो सम्झौतापछि तुलागीबासी सबै आश्चर्यमा परेका छन् । उनीहरुले अमेरिकी अधिकारीहरुलाई सतर्क गराएकाे समाचारमा उल्लेख छ । अमेरिका, यो द्विपको दक्षिणी प्रशान्तमा चीनलाई रोक्न र महत्वपूर्ण समुन्द्री बाटोको सुरक्षाको गर्न चाहन्छ । चीनले विकासको सपना देखाएर गरिब देशहरुमा आफ्नो कब्जा जमाउन चाहेको अमेरिकी अधिकारीहरुकाे आराेप छ । समाचारमा भनिएको छ, ‘चीनले आफ्नो वैश्विक महात्वकांक्षाहरुलाई पूरा गर्न नयाँ रणनीतिमार्फत विदेशी सरकारहरुलाई पैसाको लोभमा पार्दै ठूला संरचना बनाइदिने बाचा गर्छ र त्यसकारण विकासशील ऋणको जालमा फस्ने गर्छन् ।’

न्यूजिल्याण्डका क्यान्टरबरी युनिभर्सिटीका चिनियाँ अनुसन्धानकर्ता एन मोरी ब्रैडी भन्छन्, ‘यसको भौगोलिक स्थितिबाट नै थाहा हुन्छ की यो कस्तो राम्रो स्थान छ । चीन दक्षिण प्रशान्तमा आफ्नो प्रभाव बढाउन चाहन्छ । त्यसकै लागि उसले बन्दरगाह र एयरफिल्ड आफ्नो नियन्त्रणमा ल्याउने याेजना बनाइरहेकाे छ । बेइजिङले दक्षिण प्रशान्तमा आर्थिक, राजनीतिक र सैन्य शक्ति फैलाउने महत्वकांक्षा लिएको छ । तुलागी द्विप क्षेत्र प्राकृतिक श्रोतमा धनि छ ।’ चीनको यो कदमले अमेरिका र अस्टे्रलिया चीनसँग चिढिने निश्चित छ । अब चीनले त्यस क्षेत्रमा समुन्द्री जहाजदेखि प्लेनसम्म आफ्नो सैनिक पकडलाई मजबुद गर्न अघि बढिरहेको छ ।

अर्कोतर्फ सोलोमन द्विपको ताइवानसँग एकदमै राम्रो कुटनीतिक सम्बन्ध छ । यी दुईबीच राम्रो सम्बन्ध भएको चीनले हेर्न चाहिरहेको छैन । तुलागी सम्झौता हुनु केहीदिन अघि सोलोमनले ताइपेइसँगको सम्बन्ध तोड्दै बेइजिङको पक्षमा भएको थियो । तुलागी द्विपमा एक हजारभन्दा बढी आवादी रहेको छ । त्यहाँको जनसंख्या यो सम्झौताप्रति सन्तुष्ट छैनन् । उनीहरुले सम्झौताको विरोध गर्दै अदालतमा मुद्दाको तयारी गरिरहेको पनि न्यूयोर्क टाइम्सले लेखेको छ । मुद्दाको तयारीमा रहेका माइकल सलिनीले भने, ‘चीनले हाम्रो देशमा घुसेर पुरै द्विपलाई भाडामा लिन पाउँदैन । यहाँका हरेका मानिसहरु द्विपलाई आर्मी बेस क्याम्प बनाउने आशंकामा डराइरहेका छन् ।’

चीनले सैन्य बेस क्याम्प बनाउनु भनेको आफू शक्तिशाली देखाउने रणनीतिक र प्रतिकात्मक संकेत पनि हुनसक्छ । केही अमेरिकी अधिकारीहरुले चीनको यस्तो गतिविधीले दोश्रो विश्वयुद्धको सम्झना गराएको अभिव्यक्ति दिएका छन् । दोश्रो विश्वयुद्धको समयमा जब जापानले कैयौं द्विपहरु आफ्नो नियन्त्रणमा लिएको थियो त्यहि समयमा अमेरिकाले युद्धद्वारा उनीहलाई त्यहाँबाट हटाएकाे थियो । यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट ’ नीतिले विश्वजगतलाई रुष्ट बनाउँदै गइरहेका छन् । त्यसको फाइदा चीनले मज्जाले उठाइरहेको छ ।

केही अमेरिकी र सोलोमन अधिकारीहरुले चिनियाँ अधिकारीहरुले स्थानीय राजनीतिज्ञहरुलाई लामो समयदेखि घुस दिएर आफ्ना पक्षमा पारेको आरोप लगाएका छन् । ६ लाखको जनसंख्यार ५० सांसद् भएको गरिब देश सोलोमनलाई आफ्नो पक्षमा पार्नको लागि चीनलाई धेरै समय नलागेको उनीहरुको भनाइ छ । यसैबीच सोलोमनका प्रधानमन्त्री मानासेह सोगावेरले चीनको भ्रमण गरेका थिए । यो भ्रमणबाट फर्केपछि उनले चीनको तारिफमात्र गरिरहेको समाचारमा उल्लेख छ । चीनको यो कदमले अमेरिका र अस्ट्रेलियाको सोलोमन द्विपलाई ताइवानप्रति बफादार बनाउन गरेको कोशिसलाई पनि झट्का लागेको छ ।