१ वैशाख, एजेन्सी ।

अमेरिकी सेनाले अफगानिस्तानमा इस्लामिक स्टेटको सुरुङ लक्षित गरि बिहिबार खसालेको सबैभन्दा ठूलो नन-न्युक्लिअर बमले ३६ जनाको ज्यान लिएको छ। GBU-43/B म्यासिभ अर्डिनान्स एअर ब्लास्ट बम (मदर अफ अल बम )ले पूर्वी नान्गरहार प्रान्तको अचिन जिल्लामा इस्लामिक स्टेटको इलाकामा प्रहार गरेको थियो।

अमेरिकाले बम खसालेको इलाका इस्लामिक स्टेटको गढ भएको बताउँदै बमबारी अफगानिस्तानकै सहकार्यमा भएको अफगानिस्तान सरकारले बताएको छ।

यो पढ्नुस्: अमेरिकाले अफगानिस्तानमा खसालेको बम भन्दा शक्तिशाली रुसको बम ‘फादर अफ अल बम्बस्’

नागरिकको ज्यान नजाओस् भनि सो समयमा सावधानी अपनाइएको पनि सरकारले जनाएको छ।

सरकारले बमबारीको पक्षमा बोलेपनि अफगानिस्तानका सामाजिक सञ्जालमा भने अमेरिकाको यस्तो कार्यको निन्दा गरिएको छ।

अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजायीले अमेरिकाको आक्रमणको निन्दा गरेका छन्। नान्गरहार प्रान्तलाई आफ्नो बमको लागि प्रयोगशाला बनाएको भन्दै आफ्ना नागरिकहरुलाई ‘अमेरिकालाई रोक्न’ आह्वान समेत गरेका छन।

साथै ट्वीटरमा केही प्रयोगकर्ताहरुले अमेरिकाकै कारण अफगानिस्तानमा विद्रोहीको जन्म भएको बताएका छन्।

सामाजिक सञ्जालमा अमेरिकाको कदमको पक्षमा बोल्नेको पनि कुनै कमी छैन। बमबारी गर्नुको कारण जायज भएको भन्दै केहीले अमेरिकाको पक्ष लिएका छन्।

यो पढ्नुस्:
भिडियोमा हेर्नुस्: अमेरिकाले अफगानिस्तानमा खसालेको सबैभन्दा ठूलो बम