२८ साउन, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई भिषा दिन अमेरिकी दुतावासले अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागि हुन अमेरिका जानका लागि मंगलबार दुतावास पुगेका उनलाई दुताबासले भिषा दिन अस्वीकार गरेको हो ।

सन्दीपले यो कुराको जानकारी आफ्नो ट्वीटरमार्फत दिएका छन् । उनले आफ्नो भिषा दिन अमेरिकाले अस्वीकार गर्दा आश्चर्यचकित परेको ट्वीट गरेका छन् । साथै उनले आफ्नो ट्वीटमा यस्तो अवस्थाले एउटा खेलाडीको लागि एकदमै कठिक हुने उल्लेख गरेका छन् ।

‘राष्ट्रिय क्रिकेटरको रुपमा सन् २०१६ देखि देशविदेशका विभिन्न लिगमा भाग लिइसकेको क्रिकेटरको भिषा अस्विकार गरिनुले मलाई आश्चर्य लागेको छ,’ सन्दीपले ट्वीट गर्छन्, ‘मैले आवश्यक सम्पूर्ण कागजात बुझाएको थिएँ, तर पनि भिषा अस्विकार गरिँदा म निःशब्द भएको छु ।’

सन्दीपले यो ट्वीटमा नेपालका लागि अमेरिकी दुतावासको ट्वीटर ह्याण्डल, क्यारेबियन प्रिमियर लिगको ट्वीटर ह्याण्डल र प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलमा मेन्सन गरेका छन् । लगत्तै सन्दीपले अर्को ट्वीट गर्दै हेल्लो सरकार, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र मन्त्रालयको ट्वीटर ह्याण्डलमा पनि मेन्सन गरेका छन् । सन्दीपले सरकारी तवरबाट दुतावासको गाँठो फुकाउने आशा ट्वीटरमा पनि व्यक्त गरेको यी क्रियाकलापबाट देख्न सकिन्छ ।