बर्षौ देखि अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको उच्च शिक्षा हासिल गर्न रहरको देश बनेको छ। वर्षेनी हजारौं संख्यामा नेपालीहरु अष्ट्रेलिया भित्रिन्छन् पढ्न कै लागि। 

नेपाल चीन र भारत पछी सर्वाधिक विद्यार्थी पठाउने मुलुक समेत हो। गएको वर्ष मात्र नेपालीहरुले अष्ट्रेलियामा १.६ बिलियन डलर खर्च गरेको तथ्याङक छ।  

यतैको पीआर लिएर बस्ने नेपालीको संख्या पनि सानो छैन्। कहाँ छैनन् र नेपाली ?, सिड्नी देखि क्यानबेरा मेलवर्न, ब्रिसबेन, एडिलेड,डार्विन हुँदै तास्मानिया सम्म नेपालीको बाक्लो उपस्थिति छ। 

उपलब्धीका हिसावले नेपालीलाई कम आँक्न मिल्दैन, पढाई देखि व्यापार व्यवसायमा पनि नेपालीहरुको उपस्थिति उल्लेख्य छ। यहाँका अन्य समुदायसंग मिलेर बस्ने मामिलामा  पनि नेपाली सहज र एड्याप्टिभ देखिएका छन्। 

बहुँसांस्कृितिक मुलुक अष्ट्रेलियामा नेपालीको राम्रो पहिचान स्थापित भएको छ। विभिन्न कार्यक्रम गरिरहने, यहाँका कार्यक्रममा पनि सहभागी हुने  चलायमान समुदायका रुपमा नेपाली समुदायको परिचय बनेको छ। 

तर नेपालीहरुले केही समय यता झस्काउने र दुखाउने घट्नाक्रमहरु पनि बेहोरेका छन्। यहाँ त्यस्तै पाँच प्रतिनिधी मुलुक घट्नाहरुको चर्चा गरिएको छ जसबाट नेपाली समुदायले पाठ सिक्न जरुरी देखिएको छ। 

प्रतिनिधी घट्ना १: अभिभावकमाथि को हेलचक्रयाई: नेपालीहरुले आफ्ना अभिभावकलाई अष्ट्रेलिया बोलाएर जानेर वा नजानेर लाजमर्दो अवस्था निम्त्याएका छन्। तेल भिषाका नाममा बदनाम गरिएको अविभावक बोलाउने प्रयोजन जे भए पनि त्यसले यता केही अफ्ट्यारा स्थिति सृजना गरेको छ। 

उदाहरण १:  अविभावक बोलाए पछि उनीहरुलाई बच्चा हेर्न लगाएर घरका दुबै जना दिनरात काममा दौडिने र अभिभावकलाई समय नै नदिने प्रवृतीले यहाँ रहेका धेरै अभिभावक डिप्रेसनमा जाने गरेका छन्। 

उदाहरण २: अभिभावकलाई समय नदिने मात्रै होइन अष्ट्रेलियाका सामान्य नियम समेत नसिकाइदिनाले  उनीहरुले पार्कमा जाँदा समेत अफ्ट्यारो अवस्था भोग्नु परेको छ। एक जना अभिभावनक फल टिप्न रुख चढेपछि काउन्सिलले जरिवाना गरकेो कुरा केही समय अघि सार्वजनिक भएको थियो।

प्रतिनिधी घट्ना २: घरेलु हिंसाको चपेटो:  नेपाली समुदाय घरेलु हिंसाको  चपेटोमा समेत परिसकेको केही समय यता सार्वजनिक गरिएका घट्नाहरुले पुष्टी गरिसकेका छन्। समस्याको शान्तिपुर्ण समाधान खोज्न छोडेर शारीरिक हिंसा उत्रिदाँ केही समय अघि एक नेपाली युवाले ज्यान समेत गुमाए।

केही समय यता घरमा श्रीमान-श्रीमतीको झगडा परेर प्रहरी बोलाउने घट्ना समेत धेरैनै घटेका छन् । यसै गरि पब तथा बारमा झगडामा नेपाली युवा उत्रिएका तथा ग्याङ फाइटका घट्नाहरुले नेपाली समुदाय तरंगित हुने गरेको छ। 

प्रतिनिधी घट्ना:३:नियम तथा जानकारीको अभाव: नियम तथा जानकारीको अभावले गर्दा पनि नेपालीहरुले समस्या भोग्ने देखी ज्यान सम्म गुमाएका उदाहरण छन्। 

केही नेपालीले समुन्द्रको पानीका बारेमा कम जानकारीमा पौडी खेलेर अमुल्य ज्यान गुमाए। त्यसैगरि कंगारुको बाक्नलो उपस्थिती हुने हाइवेमा रातीको समयमा तीब्र गतिमा गाडी चलाउनलेे ठुलो दुर्घटना निम्तियो। 

त्यसैगरि सडकका नियममा समेत हेलचक्रयाइ गरेर ठुलो फाइन बेहोरेका घट्नाहरु पनि नेपाली समुदायमा चर्चाका विषय बन्ने गरेका छन् ।

प्रतिनिधी घट्ना ४: तनावको व्यस्थापन: एक्लै पढन आउने विध्यार्थीले अष्ट्रेलियामा मानिसक तनाव, आर्थिक दबाब र सामजिक परिवेशको अभावले तनावपुर्ण जीवन काट्न परेको  देखिएको छ। निकै सानो उमेरमा अष्ट्रेलिया आउने विद्यार्थीले यहाँ निकै दबाब महसुस गर्ने गरेका छन्। 

 आर्थीक अवस्था सक्षम भएको विध्यार्थीले समेत सामाजिक तथा पारिवारिक वातावरण नभएर मानसिक तनाव झेलेका छन्। अष्ट्रेलियामा रहेका विभिन्न नेपाली संगठनहरुले पनि विद्यार्थीका साना साना समस्या भन्दा राजनीतिका ठुला कुरामा मात्र सक्रियता देखाउने गरेको आरोप छ।

 तनावका कारण विद्यार्थीहरु आत्महत्या देखि लागु पदार्थको दुर्वयसनमा फस्ने गरेको देखिएको छ। 

केही समय अघि मात्र एनआरएन अष्ट्रेलियाले लागु पदार्थको दुर्व्यसनमा फसेका एक नेपाली विद्यार्थीलाई उद्धार गरेर नेपाल पठाएको थियो। 

प्रतिनिधी घट्ना:५ अपराधको जालो:पछि्लो समयमा नेपालीहरु अपराधमा फस्ने गरेको समाचार सार्वजनिक भए जसले नेपाली समुदायलाई निकै चिन्तित बनायो। 

नेपालबाट भविष्य बनाउन अष्ट्रेलिया आएका नेपालीहरु विभिन्न अपराधमा लिप्त भएको समाचार सार्वजनिक हुँदा सबै नेपालीको मन दुख्ने नै भयो।

केही समय अघि मात्रै एक नेपाली मुद्रा अपचलनका आरोपमा पक्राउ परेका थिए। यसै केही वर्ष अघि अर्का नेपाली बलाल्कारको आरोप पुष्टी भएपछि जेल परे। 

माथिका घट्नाहरु केबल प्रतिनिधी मुलुक घट्नाहरु मात्रै हुन् तर अष्ट्रेलियामा रहेका संघसस्था र सरोकारवालाहरुले समयमै ध्यान नदिने हो भने यस्ता घट्नाहरुले बढ्दै जाने निश्चित छ।