११ भदौ, सिड्नी । अस्ट्रेलियाको सिड्नीमा वृद्ध स्याहार केन्द्रमा काम गर्ने एक नेपालीलाई त्यहाँको अदालतले एक वृद्धमाथि दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर गरेको छ । ८० वर्षीय महिलाको मुखमा ‘ओसिलो रुमाल’ कोचेको आरोपमा नेपाली युवती अनिता प्रजापतिलाई म्यान्ली अदालतले सोमबार दोषी ठहर गरेको हो । दोषी ठहर भएता पनि उनलाई हुने सजायको फैसला अदालतले सेप्टेम्बरमा सुनाउने जनाएको छ ।

अनितामाथि ८० वर्षीय वृद्ध महिलाको लुगा फेरिदिने क्रममा चुप लगाउन झापड हिर्काएको र त्यसपछि उक्त वृद्धाको मुखमा पुछ्न प्रयोग गरिने ओसिलो रुमाल कोचिदिएको आरोप लागेको थियो । कामबारे गरिएको आलोचनाका कारण रिसाएर एक समकक्षीले आफूले हातपात गरेको आरोप लगाएको अनिताले अदालतमा बताएकी छन् ।

दुवैपक्षको बयान सुनिसकेपछि फैसला सुनाउने क्रममा न्यायाधीस मिशेल गुडविनले प्रजापति ‘राम्रो चरित्र’को व्यक्ति रहेता पनि उनी विरुद्ध रहेका हातपातका प्रमाण पर्याप्त रहेकोले उनी दोषी भएको बताइन् । साथै न्यायाधीसले अस्ट्रेलियाली वृद्ध स्याहार प्रणाली अत्यधिक जटिल भएको साथै प्रजापति र उनका समकक्षीबीच केही तनाव रहेको कुरा पनि आफूले बुझेको बताइन् ।

अदालतको फैसला आउनुअघि नै स्वास्थ्य स्याहार बारे दर्ता भएका उजुरीहरू माथि जाँच गर्ने जिम्मा पाएको न्यु साउथ वेल्स राज्यको आयोगले आरोपी प्रजापतिलाई स्वास्थ्य क्षेत्रमा काम गर्न नपाउने गरी गत जुलाई ८ देखि लागु हुनेगरी आठ हप्ताको अन्तरिम प्रतिबन्ध लगाएको थियो ।

राज्यको स्वास्थ्य स्याहार उजुरी सम्बन्धी कानुन अन्तर्गत जारी गरिएको उक्त प्रतिबन्ध अनुरूप प्रजापतिले तलबी कर्मचारी वा स्वयंसेवकको रूपमा कुनै व्यक्तिको स्याहारमा संलग्न हुन पाउने छैनन् । अदालतको फैसला बमोजिम, भविष्यमा उनी विरुद्धको अन्तरिम प्रतिबन्ध स्थायी रूपमा लागु गरिने बारे थप जाँच हुने आयोगको भनाइ छ ।

केही समय अघि अर्का नेपालीले पनि त्यसै गरि एज्ड केयरमा वृद्धलाई दर्व्यवहार गरेको विषयमा दोषी ठहर भई सजाय भोगिसकेका छन्।