२५ फागुन, काठमाडौं । अष्ट्रेलियामा एक नेपाली युवकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबर्टमा पुगेका २० वर्षीय युवकमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

अस्ट्रेलियाको तास्मानीया राज्यको होर्बाटस्थित ग्राण्ड चान्सलर होटलमा कार्यरत ती नेपाली युवक गत फेब्रुअरी २६ मा नेपालबाट गएका थिए । अस्ट्रेलियन सञ्चारमाध्यमले जनाए अनुसार जहाजमै यात्राका क्रममा विरामी भएका उनले स्वास्थ्य परीक्षण नगरीकनै आफू कार्यरत होटलमा काम थालेका थिए । उनले आफैं आइसोलेसनमा बस्नुपर्नेमा त्यसो नगरेको बताइएको छ ।

कोरोना संक्रमित युवक आफू पढ्ने कलेजमा पनि पुगेको खुलेको छ । तास्मानियाका सार्वजनिक स्वास्थ्य निर्देशक मार्क भेचले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् । नेपालबाट फर्किएर उनले होटलमा काम गरेका थिए । होटलमा उनीसँगै नजिकिएर काम गर्नेहरुलाई पनि अहिले केही दिन आइसोलेसनमा बस्न भनिएको छ ।

नेपालबाट फर्किएको नौ दिनपछि स्वास्थ्य जाँचका लागि रोयल होर्बट अस्पताल पुगेका थिए। त्यही अस्पतालमा ती नेपाली युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । अष्ट्रेलियामा कोरोनाका कारण तीन जनाको मृत्यु भइसकेको छ भने ३८ जनामा संक्रमण पुष्टि भएको छ ।