मेलबर्न, ८ जेठ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन फेरि प्रधानमन्त्री हुने पक्का भएको छ । शनिबार सम्पन्न निर्वाचनमा सत्तारुढ दल लिबरल पार्टीले बहुमत सिट जितेसँगै मरिसन फेरि सत्तामा फर्कने पक्का भएको हो ।

८० प्रतिशत मतगणना भइसक्दा लिबरल नेशनल गठबन्धनले सरकार बनाउन आवश्यक पर्ने ७६ सिट जितिसकेको बीबीसीले जनाएको छ । सरकार निर्माणका लागि तल्लो सदन अर्थात प्रतिनिधिसभामा रहेको कूल १ सय ५१ सिटको बहुमत अर्थात ७६ सिट आवश्यक पर्छ । विपक्षी दल लेबर पार्टीले ६५ सिट जित्दा अन्य पार्टी ६ सिटमा बिजयी भएका छन् ।

लेवर पार्टीका नेता बिल शोर्टनले स्कट मोरिशनलाई फोन गरेर बधाई दिएका छन् । आफ्नो हार स्वीकार्दै उनले लेवर पार्टीको नेता पदबाट समेत हट्ने घोषणा गरेका छन् । उनले सांसदको पद भने नत्याग्ने बताए ।

समर्थकहरूका सामु जितको घोषणा गर्दै प्रधानमन्त्री स्कट मोरिसनले आफूले चमत्कारमा विश्वास गर्ने बताएका थिए । यसैबीच, लिवरल पार्टीबाट बार्टन क्षेत्रमा उठेका नेपाली मूलका उम्मेदवार परमेज श्रेष्ठ लेवर पार्टीकी नेतृ लिण्डा बर्नीसँग पराजित भएका छन् । पूर्व प्रधानमन्त्री टोनी एबट पनि स्वतन्त्र उम्मेदवार जाली स्टेगालसँग पराजित भएका छन् । मोरिसन सरकारमा अध्यागमन मन्त्री रहेका डेभिड कोल्म्यान, गृह मामिला मन्त्री पिटर डटन पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

अनिवार्य रुपमा मतदान गर्नुपर्ने नियम राखिएको अष्ट्रलियाको निर्वाचनमा करिब ९५ प्रतिशत मतदाताहरुले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।