अष्ट्रेलिया, १३ जेठ । धेरै नेपाली युवाको सपनाको देश अष्ट्रेलियामा जीवन बिताइरहेका नेपालीहरु पनि अनेकन समस्याबाट ग्रस्त छन् । अष्ट्रेलिया पुगेको ‘सीधा कुरा जनतासँग’ टिमले पहिलो दिन सिड्नीमा रहेका नेपाली समूदायका विद्यार्थी तथा अन्य व्यक्तिहरुसँग अन्तरक्रिया गर्दा समस्या उजागर भएको हो ।

अन्तरक्रियाबाट ‘सीधा कुरा’ टिमले अष्ट्रेलियामा अध्ययन तथा रोजगारीको सिलसिलामा विषेश गरी विद्यार्थीले भोगेको समस्यालाई नियाल्ने प्रयास गरेको थियो । विषेश गरी नेपालका कन्सल्टेन्सीले भने अनुसारका कलेज नहुनु, कतिपय अवस्था कलेजनै अवैध हुनु लगाएतका समस्या अधिकांश विद्यार्थीका थिए ।

विद्यार्थीले अष्ट्रेलियामा हुँदा अभि भावक ठान्ने नेपाली दुतावास र गैर आवासीय नेपाली संघ एन आरएनबाट समेत जटिल समस्या पर्दा सहयोग नपाएको विद्यार्थीको गुनासो थियो । एन आरएनको सदस्य बनाउन २५ डलर लिन हतार गर्ने पदाधिकारीहरुले कसैको मृत्यु पश्चात शव नेपाल पठाउनसमेत सहयोग नगरेको भन्दै आक्रोश पोखे । कार्यक्रममा उठेका विषयलाई सम्बोधन गर्न एनआरएन, कन्सल्टेन्सी, कानून व्यवसायीका प्रतिनिधिको उपस्थिति थियो ।

तर अधिकांश विद्यार्थीको आक्रोश जवाहदेही अधिकारीहरुप्रति नै थियो । विद्यार्थी बाहेक अष्ट्रेलियामा रहेका नेपाली समूदायमा पारिवारिक विचलनको समस्या पनि कार्यक्रम उठे । कार्यक्रममा उपस्थित एक महिलाले श्रीमान र आफ्नै नेपाली कानून व्यवसायीले थाहै नपाई सम्बन्धबिच्छेद गराएर आफूलाई सडकमा पुर्याएको दुखेसो गरेकी थिइन् ।

महिलाको यस्तो आक्रोशपछि भने उनको मुद्धा हेरिरहेको कानून व्यवसायी खिलेन्द्र तिमिल्सिनाले व्यक्तिगत रुपमा सहयोग गरेपनि कानूनी रुपमा सहयोग गर्न नसकेको जवाफ दिएका थिए ।

सरोकारवाला व्यक्तिले उठेका प्रश्नको जवाफ दिएपनि विद्यार्थीहरु भने सन्तुष्ट थिएन । विद्यार्थीहरु समस्याको चाङले आक्रोशित थिए । कार्यक्रममा अष्ट्रेलियास्थित नेपाली दुतावासका काम कारवाहीका विषयमा निकै प्रश्न उठेका थिए।