२१ साउन, काठमाडौं । अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अहिले जारी गर्दै आएको हस्तलिखित अस्थायी राहदानी अब नदिने भएको छ ।

अष्ट्रेलिया, न्युजिल्याण्डलगायतका प्रशान्त क्षेत्रमा बसोबास गरिरहेका नेपालीलाई तत्काल आवश्यक पर्दा दूतावासले हस्तलिखित अस्थायी राहदानी उपलब्ध गराउँदै आएको थियो । त्यसरी उपलब्ध गराइएको हस्तलिखित राहदानीमा यात्रा गर्दा अस्ट्रेलियाको अध्यागमन, ट्रान्जिट मुलुकको अध्यागमन र नेपालको अध्यागमनमा समेत समस्या हुन थालेपछि राजदूतावासले आगामी भदौ १ गतेदेखि लागू हुने गरी अस्थायी राहदानी जारी गर्न बन्द गर्ने भएको हो ।

क्यानबेरास्थित राजदूतावासले एक विज्ञप्ती जारी गर्दै अध्यागमनमा देखिने समस्या समाधान गर्नुका साथै नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओमा गरेको प्रतिबद्धताअनुसार मेसिन रिडेबल एमआरपीमै जानुपर्ने जनाएको छ । साथै दूतावासले अत्यावश्यक राहदानी आवश्यक पर्ने व्यक्तिहरुलाई समयमै एमआरपीकै लागि आवेदन दिन पनि आग्रह गरेको छ ।