३० गते, काठमाडौं ।

संविधानसभामार्फत नयाँ संविधान जारी गर्ने ऐतिहासिक दिन आगामी असोज ३ गते साँझ आ–आफ्ना निवास, घर, पार्टी कार्यालय र सार्वजनिक स्थलमा दीपावली गर्न नेकपा (एमाले) ले आम समुदायलाई आह्वान गरेको छ ।

ओलीले विशेष दुत भारत पठाउनुको रहस्य के हो ?

सो दिन राष्ट्रिय एकता र उल्लासको महत्वपूर्ण दिन हुने भएकाले संविधानको घोषणामार्फत नेपाली जनताको विजयको सन्देश प्रवाह गर्न एमालेले दीपावली गर्न सो आह्वान गरेको हो ।

CPN UML new party office (20)

पार्टी महासचिव ईश्वर पोख्रेलद्वारा आज जारी विज्ञप्तिमा असोज ४ गते विभिन्न सङ्घसंस्था, पार्टी र नागरिक समाजसँग सहकार्य गरी संयुक्तरुपमा जुलुस, र्‍याली, छलफल, अन्तक्र्रिया र गोष्ठीजस्ता स्थानीय विशिष्टताअनुरुपका रचनात्मक कार्यक्रम आयोजना गर्न सबै स्वदेश तथा प्रवासमा क्रियाशील सङ्गठनहरुलाई पार्टीले निर्देशित समेत गरेको जनाइएको छ ।

काठमाडौँलगायत देशका सबै भू–भागहरुमा क्रियाशील राजनीतिक दलहरु, सङ्घसङ्गठन, सरकारी संयन्त्र र आम नागरिकहरुलाई समेत सहभागी गराई सार्वजनिक कार्यक्रम आयोजना गर्न नेपाल सरकारको ध्यनाकर्षणसमेत गराएको छ ।

“नयाँ संविधानमा समाजका कतिपय पक्षले आफ्ना जायज माग र सरोकार नसमिटिएको भनी असन्तोषसमेत प्रकट गरिरहेका छन् । तथापि हामीले अधिकतम् सहमतिमा संविधान जारी गर्ने अग्रसरता लिएका छौँ । व्यवहारको कसीमा उत्रिँदा अधुरा र अपुरा लाग्ने कतिपय विषयलाई वार्ता, संवाद र सहमति गरी संशोधनको वैधानिक माध्यमबाट पनि सुधार गर्न सकिनेछ” महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

“आगामी असोज ३ गते मुलुकले नयाँ संविधान पाउने निश्चित भएको छ । यसको अन्तिम तयारी कार्य चलिरहेको छ । नयाँ संविधान जारी हुने दिन एउटा सामान्य दिन मात्रै होइन, नेपालको आधुनिक राजनीतिक इतिहासका तमाम अधुरा कार्यभारहरुको फछ्र्यौट गरेर मुलुकलाई समृद्धिको नयाँ दिशामा अघि बढाउने असाध्यै दूरगामी महत्वको दिन पनि हो”विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ “यस बिन्दुसम्म आइपुग्न भूमिका निर्वाह गर्ने प्रमुख राजनीतिक दलका नेताहरु, संविधानसभाका अध्यक्षसहित सबै सदस्यहरु र सम्बद्ध सबैलाई पार्टी हार्दिक धन्यवाद दिन चाहन्छ ।” रासस