२६ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियामा महिनौँदेखि लागेको डढेलोमा भएको मानवीय र जीवजन्तुको क्षतिप्रति समवेदना प्रकट गरेकी छन् । शनिबार सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले अग्नि नियन्त्रकलाई पनि शिघ्र सफलताको शुभकामना दिएकी छन् । साथै उनले सुन्दर प्रकृति र संस्कृति जोगाएर जलवायु परिवर्तनको असर कम गर्न पनि विश्व समुदायसँग आह्वान गरेकी छन् ।

उनले ट्वीटरमा लेखेकी छन्, ‘अष्ट्रेलियामा महिनौंदेखि लागिरहेको भीषण डढेलोले मानवीय क्षतिसहित करोडौं जीवजन्तु र बोटबिरुवा विनाश गरेकोमा गहिरो समवेदना १ अग्नि नियन्त्रण गर्न सम्बद्ध पक्षलाई शीघ्र सफलताको शुभकामना १ सुन्दर प्रकृति र संस्कृति जोगाएर जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायलाई आव्हान गर्दछु ।’

अस्ट्रेलियामा पछिल्लो दुई महिनादेखि लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आएको छैन । डढेलोबाट ३० जनाभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । यस्तै ५ करोडभन्दा बढी जनावरहरुको मृत्यु भइसकेको त्यहाँको टिभी नाइनले जनाएको छ । डढेलो नियन्त्रण हुन नसक्दा त्यहाँको तापक्रम पनि बढिरहेको छ । डढेलोले लाखौँ हेक्टर बन नष्ट भइसकेको छ । अस्ट्रेलिया सरकारले डेढेलो नियन्त्रणका लागि सेना परिचालन गरेपनि अहिलेसम्म सफल हुन सकेको छैन ।