१८ कात्तिक, काठमाडौं ।
नेपालमा उपचारका क्रममा हुने लापरबाहीमध्ये ३३.३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा.डा. हरिहर वस्तीको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबाही चिरफार गर्दा अर्थात् सर्जिकल ट्रिटमेन्टको अवस्थामा हुने उल्लेख छ ।

अस्पतालमा हुलदंगा बढ्न थालेपछि सरकारले चरम लापरबाहीका कारण बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, छानबिन र क्षतिपूर्तिलगायत आवश्यक विषयलाई व्यवस्थित गर्ने कानुन बनाउन १ असोजमा स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

निर्देशनलगत्तै देशभरका चिकित्सकहरू आन्दोलनमा आएपछि निर्णयको एक सातापछि ८ असोज २०७४ को मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल चिकित्सक संघको आन्दोलनसम्बन्धी मन्त्रिपरिषद्बाट प्राप्त निर्देशनलाई कार्यान्वयन गर्ने विषयमा राय सुझाबसहित प्रतिवेदन पेस गर्नु भन्ने निर्णयअनुसार प्रा.डा.वस्तीको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो । प्रतिवेदनले विगत १० वर्षअघिदेखिका रिपोर्ट, मुद्दा र घटनाका आधारमा एकतिहाइ घटना लापरबाहीका कारण भएको देखाएको छ ।

प्रतिवेदनले देखाएको लापरबाहीका घटना
दक्ष चिकित्सकले उपचार नगरेका कारण झन्डै १५ प्रतिशत लापरबाही हुने गरेको र आकस्मिक उपचार नदिएका कारण १४ प्रतिशत लापरबाही हुने गरेको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । बिरामीसँग डाक्टरले उचित राय, परामर्श र छलफल नगरेका कारण झन्डै १५ प्रतिशत लापरबाहीका घटना हुने गरेका छन् । प्रतिवेदनका अनुसार नेपालमा ८० प्रतिशत डाक्टरले बिरामीसँग कसरी कुुरा गर्ने भन्ने समेत जान्दैनन् ।

के हो चिकित्सकीय लापरबाही ?
बिरामीप्रति निर्वाह गर्नुपर्ने कर्तव्य पूरा नगरेको अवस्थालाई चिकित्सकीय लापरबाही मानिन्छ । आफ्नो जिम्मेवारी पूरा नगरेमा बिरामीलाई कुनै पनि शारीरिक, मानसिक, आर्थिक रूपमा क्षति पुग्न गएको अवस्थालाई चिकित्सकीय लापरबाही मानिन्छ । लापरबाही ठहरिन चिकित्सकको कर्तव्य कानुनद्वारा निर्दिष्ट हुनुपर्छ, कर्तव्य उल्लंघन गरेको प्रमाण मेडिकल रेकर्ड वा ट्रिटमेन्ट रेकर्डसमेतबाट देखिनुपर्छ । उल्लंघनले बिरामीलाई केही न केही क्षति (मृत्यु-अंगभंग-अन्य शारीरिक नोक्सानी वा आर्थिक हानि) पुगेको हुनुपर्छ । यस्तो भएको अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मी नै जवाफदेही हुन्छ ।