१८ माघ, काठमाडौं । कोरोना भाइरसबाट अति प्रभावित चीनको हुवेई प्रान्तका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिएको छ ।

बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले शनिबार सूचना निकालेर जानकारी दिएको हो । नेपाल आउन चाहने नेपालीहरूले चीनको स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख बिहान ९ बजे अघि नै फारम भरिसक्न समेत दूतावासले सूचनामा उल्लेख गरेको छ ।

फारम भरेका बाहेक अन्यलाई नेपाल नपठाइने भएकाले सबैलाई सो समयअघि फारम भरिसक्न दूतावासले आग्रह गरेको छ । फारम भर्नेको संख्या हेरेर विमान चाटर्ड गरी स्वदेश फर्काइने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।