११ वैशाख, काठमाडौं ।

आइपिएलको २७ औं म्याचमा स्टार खेलाडीले भरिएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेजर्स बैंग्लोरबीचको खेल धेरै नै प्रतिस्पर्धी हुने आंकलन गरिएको थियो ।

पहिलो ब्याटिंग गरेको कोलकाताले १० ओभरमा ९० रन बनाएर यस्तो संकेत नदिएको होइन तर, त्यसपछि १३१ रन पुग्दा सबै विकेट गुमाउँन बाध्य भयो ।

अर्कोतिर थियो आरसिबी जहाँ क्रिस गेल, विराट कोहली, एभिडे भिल्लर्स, मन्दिप सिंह, केएम जाधव, स्टुआर्ट बिन्नी जस्ता आक्रामक ब्याटसम्यान हुँदा उसले सजिलै खेल जित्ने अनुमान गरिएको थियो ।

तर, भयो के भने १३२ रन पछ्याउने क्रममा आरसिबीले आइपिएलको इतिहासमैं सबैभन्दा कम रन अर्थात ४९ रन बनाउन सक्यो । ४९ रनमा रोकेपछि कोलकाताले ८२ रनले खेल जित्यो । यस अघि आरसिबीले आइपिएलमा राजस्थान रोयललाई ५८ रनमा रोकेर खेल जितेको कम स्कोरको रेकर्ड थियो । तर, आरसिबी कोलकातासँग आइतबार राती आफैं सिकार हुन पुग्यो ।

४९ रनमा टिम अलआउट हुने क्रममा कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्नु अर्को रोचक संयोग बन्यो । क्रिस गेल ७, विराट कोहली शुन्य, मन्दिप सिंह १, एबी भिल्लर्स ८, केएम जाधव ९, स्टुआर्ट बिन्नी ८, पवन नेगी २, सामुयल बद्रि शुन्य, टिमल्स मिल्स २ र यजुवेन्द्र चहलले ७ रनमात्र बनाउन सके । श्रीनाथ अरविन्दले अविजित ५ रन बनाए ।

यसरी ध्वस्त भयो आरसिबी
९.४ ओभरमा आरसिबीलाई धरासयी बनाउने क्रममा कोलकाताका तीन बलर ३÷३ विकेट लिए । नाथन कटलर नाइलले ३, क्रिस वाकसले ३ र ग्रान्डोमोले १.४ ओभर बलिगं गर्दै ३ विकेट लिए । एक विकेट उमेश यादवको नाममा रह्यो ।