एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १२ औं संस्करण शनिबार(आज)देखि सुरु हुँदैछ ।

पलुवामा आक्रमणमा मारिएका सुरक्षाकर्मीलाई श्रद्धाञ्जली दिँदै यसपटक प्रतियोगिताको उद्घाटन समारोह आयोजना गरिएको छैन । एम ए चिदम्बरम रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा चेन्नाइ सुपर किँग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिष्पर्धा हुनेछ ।

दुई टिमबीचको खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे सुरु हुनेछ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाइमा सुरेश रैना, अम्बाती रायडु, शेन वाट्सन, फाप डु प्लेसिस, रबिन्द्र जडेजालगायतका खेलाडी छन् ।

बिराट कोहलीले नेतृत्व गरेको बैंगलोरमा एवी डि भिलियर्स, मोइन अली, उमेश यादव, पार्थिव पटेल, टिम साउदीलगायत छन् । अहिलेसम्म भएका आइपीएलका ११ संस्करणमा चेन्नाइ र बैंगलोर २३ पटक भिडेका छन् ।

जसमा १५ खेल चेन्नाइ र ७ खेल बैंगलोरले जितेको छ भने एक खेल नतिजा विहीन भएको थियो । आइपीएलमा बैंगलोर तेस्रो पटक उद्घाटन खेल खेल्न लागेको हो । यसअघिका दुवै खेल बैंगलोरले हारेको इतिहास छ ।

चेन्नाइले भने यसअघिका चार उद्घाटन खेलमध्ये २ खेल जितेको थियो । प्रतियोगिताको फाइनल खेल आगामी मे १२ मा हुनेछ ।