३ बैशाख, काठमाडौं।

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सातौं हार ब्यहोरेको छ । गएराति भएको खेलमा बैंगलोर मुम्बई इण्डियन्ससँग पाँच विकेटले पराजित भएको हो ।

बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य घरेलु टोली मुम्बईले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । मुम्बईका लागि क्विन्टन डि ककले ४०, सूर्यकुमार यादवले २९,रोहित शर्माले २८, इसन किसानले २१ रन बनाए भने हार्दिक पाण्ड्या ३७ रनमा नटआउट रहे ।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । उसका लागि एबी डे भिलियर्सले सर्वाधिक ७५, मोइन अलीले ५० र पार्थिभ पटेलले २८ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बैंगलोरको ४ विकेट खसाल्ने मुम्बईका लासिथ मालिंगा प्लेयर अफ दि म्याच घोषित भए ।

कप्तान बिराट कोहली ८ रनमा आउट भए । अहिलेसम्म खेलेका ८ खेलमध्ये एक खेल मात्रै जितेको बैंगलोरको प्लेअफ प्रवेशको संभावना कठिन बनेको छ । मुम्बई भने ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।